सरकारी जागिरसँगै तरकारी खेती

मान्म:कालीकोट खाँडाचक्र नगरपालिका–३ का ४९ वर्षीया जयप्रकाश पाण्डे पेसाले सरकारी जागिरे हुनुहुन्छ । तर उहाँ फुर्सदको समयमा घरमा नै बेमौसमी तरकारी खेती गर्नुहुन्छ । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय कालीकोटमा फोरम्यानको सरकारी जागिर पेसा गरिरहनुभएका पाण्डेले खाँडाचक्र–३ ताडीगाउँमा बेमौसमी तरकारी खेती गर्नुभएको छ ।

विसं २०६२ मा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयबाट सरकारी सेवा सुरु गर्नुभएका पाण्डे गाउँमा नै फुर्सदको समयका बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी लिने गर्नुभएको छ । “कार्यालयबाट बचेको समय, बिदाको दिन र बिहान बेलुका घरमा नै तरकारी खेती गर्छु”, उहाँले भन्नुभयो, “यसबाट आम्दानी र घरपरिवार चलाउनका लागि व्ययभार कम भएको छ ।”

पाण्डे गाउँमा बेमौसमी तरकारी खेती, आलु, टमाटर, मुला, गाँजर, फर्सीलगायतका तरकारी खेती गर्ने गरेको उहाँले बताउनुभयो । “कालीकोटको सरदमुकाम बजार मान्म नजिकै रहेको छ”, उहाँले भन्नुभयो, “बजारको मागअनुसार मैले विभिन्नखाले तरकारी खेती गर्ने गरेको छु ।”

आफ्नै बारीको १० हेक्टर जमिनमा तरकारी खेती गर्ने गरेको र त्यसमा परिवारले सघाउने गरेको पाण्डेले बताउनुभयो । “फुर्सदको समयमा मैले काम गर्ने गरेको छु । यसमा परिवारका अन्य सदस्यले पनि काम गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “सरकारी जागिरले मात्र परिवार पाल्न सकिँदैन । त्यसैले पनि तरकारी खेती गर्ने गरेको छु ।”

सरकारी जागिरको सिलसिलामा विसं २०७३÷७४ मा दुई वर्ष मुगु जिल्लामा रहँदा घरमा तरकारी खेती श्रीमतीले गरेको र अहिले आफू घर नजिकैै रहँदा आफूले फुर्सदको समयमा तरकारी खेती गर्ने गरेको पाण्डेले जानकारी दिनुभयो ।

तरकारी उत्पादन गर्न सकेमा बजारीकरणको समस्या नभएको पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कर्णाली राजमार्ग नजिकै भएका कारणले सुर्खेत, जुम्ला तथा कर्णाली राजमार्गका अन्य बजारमा बजारीकरण गर्न सकिन्छ ।”

तरकारी खेती आम्दानीको स्रोत भएको र वार्षिक रु एक लाखदेखि एक लाख ५० हजारसम्म कमाइ हुने गरेको पाण्डेले बताउनुभयो । “सरकारी सेवामा नहुँदा हाम्रो प्रमुख काम कृषि पेशा नै थियो । बारीमा गहुँ, मकै, कोदो धानजस्ता अन्नबाली रोप्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, “पछिल्लो समय अन्नबालीभन्दा बेमौसमी तरकारी खेती गर्ने गरेका छौँ ।”

तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने भए पनि गाउँका प्रायःजसो किसानले तरकारी खेतीजस्तो नगदेबाली लगाउन छाडेर अहिले अन्नबालीमा भर पर्ने गरेको उहाँको भनाइ रहेको छ । “अझै पनि ग्रामीण इलाकामा तरकारी तथा अन्य नगदे बालीको खेती गर्ने बानीको विकास हुनसकेको छैन”, उहाँले भन्नुभयो, “पराम्परागतरूपमा गर्ने खेती प्रणालीमा नै अहिलेको समाज निर्भर छ ।”

कालीकोटमा अहिले कर्णाली करिडोर र कर्णाली राजमार्ग रहेको र यी दुईवटा मार्ग रहेका क्षेत्रमा नगदेबाली वा तरकारी खेती गर्ने हो भने बजारीकरणको कुनै समस्या नरहेको उहाँले बताउनुभयो । “कर्णाली करिडोरले सुर्खेतबाट कालीकोट–बाजुरा जिल्ला हुँदै हुम्लासम्म छोएको छ । कर्णाली राजमार्गले सुर्खेतबाट कालीकोट–जुम्ला जिल्लासम्म छोएको छ”, उहाँले भन्नुभयो, “बेमौसमी तरकारी उत्पादन गरेमा बजारको कुनै समस्या छैन । केवल इच्छाशक्ति चाहिन्छ ।” कालीकोटका बेमौसमी तरकारी खेती गर्नेको सङ्ख्या पनि वृद्धि हुँदै गएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments