नमोबुद्धका कृषकलाई कृषि सामग्री हस्तान्तरण

बनेपा:काभ्रेका नमोबुद्ध नगरपालिकाले किसान, कृषि फार्म र सहकारी संस्थालाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले नगरपालिकामा सञ्चालित फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिँचाइ सेट, मल्चिङ प्लाष्टिक, क्रेटलगायतका सामग्री वितरण गरेको हो ।

सो क्रममा पाँच कृषक, कृषि फार्म तथा सहकारीलाई विभिन्न कृषि सामग्री वितरण गरेको नगरपालिकाले जनाएको छ । छनोट भएका लाभग्राहीलाई कृषि शाखाले आज आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा नगर प्रमुख लामाले अनुदान पाउने कृषक, फार्म र सहकारी संस्थालाई कृषि उत्पादनका क्षेत्रमा अझ थप उदाहरणीय काम गरेर देखाउन आग्रह गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले राम्रो उत्पादन गर्ने कृषकलाई नगरपालिकाले पुरस्कृत गर्ने बताउनुभयो । नगरपालिकाको कृषि समितिका संयोजकसमेत रहनुभएका वडा नं ३ का वडाध्यक्ष रमेश तिवारीले नगरपालिकाले कृषकलाई प्रत्यक्षरुपमा लाभान्वित र प्रोत्साहित हुने खालको विभिन्न कार्यक्रम तय गरिएको बताउनुभयो ।

कृषि शाखाका प्राविधिक सहायक नवीन अधिकारीका अनुसार परियोजनाअन्तर्गत वडा नं २, ५ र ८ मा बाँसको प्लाष्टिक टनेल, मल्चिङ प्लाष्टिक, ड्रिप सेट र प्लाष्टिक पोखरी निर्माण कार्यक्रम सञ्चालन भइरहेको छ । जसमध्ये परियोजना सुहाउँदो हावापानी, भूगोल र खेती गर्ने कृषकलाई छनोट गरेर सामग्री वितरण गरेको कृषि शाखाले जनाएको छ ।

टटलेटार ‘एक घर, एक धारा’ खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं २ टटलेटारका बासिन्दालाई खानेपानी उपलब्ध गराउनका लागि ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिएको छ । खानेपानीको समस्या झेल्दै आएका यहाँका बासिन्दालाई खानेपानी उपलब्ध गराउन बागमती प्रदेश सरकारको ५० लाख रुपैयाँ र नमोबुद्ध नगरपालिकाको प्राविधिक सहयोगमा सुरु गरिएको अभियान अन्तिम चरणमा पुगेको छ ।

पार्कोटे–टटलेटार खानेपानी तथा सरसफाइ आयोजनाले डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराउन थालनी गरेको अभियान अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । निर्माणका क्रममा पाइपलाइन विस्तारका लागि प्राविधिक स्टिमेट तयार गरी निर्माण काम अगाडि बढाएको स्थानीय उपभोक्ता दीपेन्द्र पौड्यालले बताउनुभयो । आयोजना पूर्णरुपमा सम्पन्न गर्नका लागि अपुग बजेट व्यवस्थापनका लागि नगरपालिकालाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

उपभोक्ता समितिका सचिव केदारप्रसाद अधिकारीले शाखा लाइन विस्तारका साथै चौकीदार घरलगायतका संरचना बनाउन थप बजेट आवश्यक भएको बताउँदै त्यसको लागि सहयोग गर्न नगरपालिकासँग आग्रह गर्नुभएको छ ।

उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार प्रदेश सरकारबाट विनियोजित रकमबाट बोलपत्रमार्फत निर्माण अघि बढाइएको हो । एक सय ७३ मिटर डिप बोरिङ गरी खानेपानी खुवाउन लागिएकामा अहिले मेसिन घर, ४० हजार लिटर क्षमताको भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ । विद्युत् आपूर्तिका लागि नेपाल विद्युत् प्राधिकरणकै स्वामित्वमा रहने गरी सय केभिएको ट्रान्सफर्मरसमेत राखिएको छ ।

नमोबुद्ध नगरप्रमुख कुन्साङ लामाले आयोजना अनुगमन गरी बाँकी रहेको कार्य पूरा गर्न नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सो क्रममा उहाँले आयोजना सम्पन्न गर्नुका साथै त्यसको दिगोपना प्रमुख विषय रहेको बताउँदै दीर्घकालीनरुपमा आयोजना सञ्चालन गर्नेगरी काम गर्न उपभोक्ता समितिलाई आग्रह गर्नुभएको छ । आयोजनाबाट ५५ घरधुरी लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments