कृषिउपज केन्द्र प्रयोगविहीन : शीतभण्डार अलपत्र

कटारी:उदयपुरको प्रमुख व्यापारिक केन्द्र कटारीमा रहेको कृषिउपज केन्द्र प्रयोगविहीन अवस्थामा रहेको छ ।

विसं २०४२ मा सगरमाथा ग्रामीण एकीकृत आयोजनाले कृषि बजारलाई व्यवस्थित गर्न लाखौँ रुपैयाँ खर्च गरेर १० वटा टहरा, चार वटा गोदाम, एउटा सिटी हल निर्माण गरी दिए पनि सम्बन्धित निकायले ध्यान नदिँदा केन्द्र प्रयोगविहीन अवस्थामा पुगेको थियो ।

लामो समय प्रयोगविहीन अवस्थामा पुगेको केन्द्रलाई गत आर्थिक वर्षमा कटारी नगरपालिकाले करिब रु २० लाख रकम खर्चेर मर्मत गरी पुनःटहरा निर्माण गरे पनि प्रयोगमा आउन सकेको छैन । अहिले पनि कृषि बजारलाई व्यवस्थित गर्न बनाइएका टहरा प्रयोगविहीन अवस्थामा छन् ।

कटारी नगरपालिकाले कृषि बजार व्यवस्थित गर्ने, कृषकलाई कृषि पेसामा आत्मनिर्भर बनाउने गरीे नीति ल्याए पनि कार्यान्वयनमा आउन सकेको छैन । “यसपटक बल्ल कार्यविधि बनाइसकेको छ, अब कार्यपालिका बैठकले पारित गरेपछि हाटबजार लाउने तयारीमा छौँ”, नगरपालिकाको विधान समितिका संयोजकसमेत रहनुभएका वडाध्यक्ष भूपेश योञ्जनले भन्नुभयो ।
पटकपटक केन्द्र सञ्चालनमा ल्याउने तयारीका साथ सरसफाइ, अतिक्रमण गरी बसेका सर्वसाधारणलाई उठाउनेलगायतका काम भएपनि त्यसले निरन्तरता पाउन नसक्दा अझै केन्द्र प्रयोगमा आउन सकेको छैन् । केन्द्रमा तत्कालै तरकारी र मासु बजारलाई लैजाने तयारी भइरहेको नगरपालिकाकी उपप्रमुख गीता खड्काले बताउनुभयो । बजारको सडक आसपास तरकारी बिक्री हुँदा जोखिमसमेत बढेको भन्दै उपमेयर खड्काले केन्द्र सञ्चालनमा ल्याउने तयारीमा रहेको बताउनुभयो ।

सगरमाथाको प्रमुख प्रवेशद्वारका रुपमा चिनिने कटारी बजारको कृषिउपज केन्द्रलाई व्यवस्थित गर्नसके ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका कृषकले उत्पादन गरेको कृषि उत्पादनलेसमेत बजार पाउने छन् । केन्द्र प्रयोगविहीन बनेपछि कटारी बजारमा कृषिजन्य किनमेल अव्यवस्थित किसिमले मुख्य सडककै आसपास हुने गरेको छ ।

केन्द्रसँगै दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार पनि अलपत्र अवस्थामा रहेको छ । हेल्भेटास र कटारी नगरपालिकाको सहकार्यमा रु १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार प्रयोगमा नआएपछि अलपत्र अवस्थामा पुगेको हो ।

त्यसैगरी गत साल कटारी नगरपालिकाको कृषकलाई मध्यनजर गर्दै प्रदेश १ सरकारबाट रु एक करोड २५ लाखको लागतमा आधुनिक शीतभण्डार निर्माण गर्ने तयारी गरे पनि अन्त्यमा बजेट फिर्ता भएको थियो ।

नगरको पहाडी भेगमा कृषकले उत्पादन गरेका उत्पादन कृषि उत्पादन भण्डारण गर्ने शीतभण्डार नहुँदा समस्या रहेको छ । पहाडी भेगमा सुन्तला, खुर्सानी, अदुवालगायत विभिन्न तरकारीहरुको व्यावसायिक खेती हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments