चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन

म्याग्दी: म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन् । कोरोना (भाइरस)को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए ।

राम्चेको आरडिसी डेरी तथा चिज र पाउद्वारको सामुदायिक चिज उद्योग सञ्चालनमा आइसकेका छन् भने घारको हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाले यही फागुन ७ गतेदेखि उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

पर्यटकको आगमन बढ्न थालेको र बजारबाट माग आउन थालेकाले बन्द भएको चिज उद्योग पुनःसञ्चालन गरिएको आरडिसी डेरी तथा चिज उद्योगका सञ्चालक यामबहादुर पुनले बताउनुभयो । तीन जर्सी गाई पाल्नुभएका उहाँले दैनिक एक किलोग्रामका दरले चिज उत्पादन गर्दै आउनुभएको छ ।

घोडेपानी, तातोपानी, मुस्ताङ र पोखरालगायत पर्यटकीय स्थलका होटल तथा रेष्टुरेष्टमा चिज खपत हुने गर्छ । गाईको दूधबाट बनाइने प्रोट्रिनयुक्त चिज पर्यटकले रुचाउने परिकारमध्येमा पर्छ । चिज उपभोग गर्ने पर्यटकको आगमन ठप्प भएपछि खपत हुन नसकेर ती उद्योग बन्द गरिएको थियो ।

हिमालयन चिज उत्पादन सहकारी संस्थाका अध्यक्ष श्यामप्रसाद खड्काले सञ्चालक र कृषकको भेला गरेर उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयो । “त्यसबेला बिक्रीका लागि तयारी भएको १५ टन चिज कुहिएर खेर फाल्नुपरेको थियो । धेरै कृषकले गाई पनि बेच्नुभयो,” उहाँले भन्नुभयो “गाई पालेका कृषकको अपेक्षा र बजारको आवश्यकताअनुसार चिज उद्योग पुनःसञ्चालन गर्ने निर्णय गरेका हौ ।”

उक्त सहकारीमा आवद्ध ३५ कृषकले दैनिक ३०० लिटर दूध चिज उद्योगलाई बिक्री गर्दै आएका थिए । उद्योग वन्द हुँदा कृषकले गाईको दूधबाट घ्यू बनाएर बेच्ने गरेका थिए । प्रतिकिलो चिज रु ८०० देखि रु एक हजारका दरले बिक्री हुने गरेको छ ।

विसं २०७१ मा कृषकहरुले रु २० लाखमा स्थापना गरेको उद्योगमा रु ३२ लाख लगानी पुगेको छ । उद्योग सञ्चालन भएपछि कृषकहरु उत्साहित भएका छ । चिज उद्योगमा दूध बिक्री गर्न कृषकहरुले होल्याड र जर्सी जातको गाई पालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments