मौसमबारे चासो बढाउँदै किसान

महोत्तरी: आपूm अत्याधुनिक सूचना प्रणाली जडित मोबाइल राख्न र चलाउन नजाने पनि यहाँका किसान अब स्थानीय मौसमबारे चासो बढाउन थालेका छन् ।

आफ्नो ठाउँमा मौसम स्टेसन सञ्चालनमा आएपछि सर्वसाधारण किसान अब कस्तो मौसम हुने हो भन्ने कुरामा अत्याधुनिक मोबाइल चलाउनेहरुसँग चासो बढाउन लागेका हुन् । यहाँका चार स्थानीय तहमा मौसम स्टेसन स्थापना भएर सञ्चालनमा आएपछि सर्वसाधारण किसानमा यस्तो चासो बढेको हो । जिल्लाका भङ्गाहा, बर्दिबास, गौशाला र औरही नगरपालिकामा मौसम स्टेसन सञ्चालनमा छन् ।

“हैन, फागुन मध्य पनि हुन लाग्यो, पूरै हिउँद पानी नपरी बित्यो, अहिले फेरि बिहान आकास धुम्मिएको देखिँदैछ, अब के होला ?”, मोबाइलमा स्थानीय मौसम सूचना प्रणाली समाविष्ट गराएका छिमेकी भतिज नन्दकिशोर चौधरीसँग भङ्गाहा–३ भङ्गाहा तल्लो थारूटोल बस्तीका ६५ वर्षीय लक्ष्मीकान्त चौधरीले चासो राख्दै सोध्नुभयो । मुसुरो, चना र अरहर (रहरी)सहितका दलहन र गहुँ बाली हिउँदे पानी नपरेर फस्टाउन नसकेको चिन्ता गर्दै चौधरीले अब कस्तो मौसम रहला भन्ने चासो जनाउनुभयो ।

पूरैै हिउँद पानी नपरी बित्दा त्यसले बालीनालीमा पारेको प्रतिकूल प्रभावले दिक्क भएका यस भेगका किसान फागुन मध्यपछि हावाहुरी क्रमशः बढ्दै जाने विगत अनुभव सम्झँदै यसपालि कस्तो हुने हो भन्ने चिन्तामा छन् । “अहिले एक–दुई दिनदेखि फेरि आकास धुम्मिएको छ त, के स्टेसनले पानी पर्ने देखाएको छ ?”, भङ्गाहा–४ रामनगरका अर्का ७८ वर्षीय किसान दीपबहादुर फुयाँलले मौसम स्टेसनले दिने जानकारीबारे चासो राख्दै छिमेकी युवा रामईश्वर ठाकुरलाई सोध्नुभयो ।

मौसम स्टेसनबाट केही दिनपछिको स्थानीय मौसमबारे पूर्वानुमान गर्न सकिने कुरा सुनेका यस भेगका किसान अब जानकारी लिएर खेतीपातीबारे तयारी गर्नु राम्रो हुने बताउँछन् । केही दिनपछिसम्मको मौसमीय अवस्थाबारे पूर्वानुमान गर्न सकिएपछि बालीनाली लगाउन र त्यसको सुरक्षामा ध्यान दिन सहयोग पुग्ने यहाँका किसानको भनाइ छ ।

युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासको साझेदारीमा सञ्चालित लिरिक परियोजनाअन्तर्गत जिल्लाका चार नगरपालिकामा अहिले मौसम स्टेसन स्थापित भएर सञ्चालनमा आएका हुन् । चारवटै स्टेसनको स्थानीय व्यवस्थापन अहिले साझेदार संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासले गरेको छ ।

“जडान गरिएका मौसम स्टेसनले निश्चित भूगोलभित्रको केही दिन पछिसम्मको मौसमबारे पूर्वजानकारी दिने हुँदा यसले खेतीपातीमा मौसमी अवस्थाअनुसार लाग्न सहयोग गर्छ”, स्टेसनहरुको मुख्य व्यवस्थापक सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादव भन्नुहुन्छ, “आम रुपमा किसान अब मौसमको पूर्वानुमानले खेतीपातीबारे सोअनुसार तयारी गर्नसक्ने छन् ।”

सामान्यतया वर्षा, शीतलहर, गर्मी, असिनापानी र हावाहुरीबारेको पूर्वजानकारीले किसान सोअनुसार पूर्वतयारीमा लाग्नसक्ने यादवको भनाइ छ । मौसम स्टेसन भूगोलअनुसार निश्चित क्षेत्रफलको जानकारी दिने भन्ने योजनाअनुसार नै स्थापना गरिएको छ । वैज्ञानिक सूचना प्रणालीअनुसार स्थापित यी स्टेसन राखिएका क्षेत्रको मौसम पूर्वानुमान ‘एन्ड्रोइड’ मोबाइलमा ‘युजर नेम’ र ‘पासवर्ड’ का माध्यमबाट सजिलै खोलेर विश्वका कुनै पनि ठाउँबाट हेर्न सकिन्छ ।

अब ग्रामीण क्षेत्रका बस्तीमा समेत अत्याधुनिक मोबाइल हुने र चलाउने बाक्लै भेटिने हुँदा सर्वसाधारणले एकअर्काबीचको संवादले सहजै थाहा पाउनेछन् । स्टेसन सञ्चालनमा आएका नगर क्षेत्रका कैयौँ युवाले आफ्नो मोबाइलमा मौसम सूचना प्रणाली समाविष्ट गराइसकेका मौसम स्टेसनका प्राविधिक पप्पु यादव बताउनुहुन्छ ।

“मौसमबारे चासो बढाउने किसान निकै बढेका छन्, आपूm मोबाइल चलाउन नजाने पनि किसानले हामीसँग र योबारे जान्ने आफ्नै टोलछिमेकीसँग सोध्ने गरेका देख्दैछौँ”, यादव भन्नुहुन्छ, “सर्वसाधारण किसानमा बढेको यो चासोले खेतीपातीमा सहजता थप्नेछ ।” यी चारवटै नगर क्षेत्रमा स्थापना गरिएका मौसम स्टेसनले नगरभरिको मौसमसम्बन्धी पूर्वानुमानको जानकारी दिन्छन् ।

मौसमको पूर्णजानकारी लिन ‘अन्डरग्राउन्ड वेदर’ भन्ने ‘एप’ डाउनलोड गर्नुपर्ने हुछ । उक्त एपमा प्राविधिकले सुरक्षित गरेको आइपी ठेगाना हालेपछि मौसमको वस्तुस्थिति थाहा पाउन सकिने प्रणाली व्यवस्थित गरिएको छ । एन्ड्रोइड मोबाइल राम्ररी चलाउन जान्नेले यो जानकारी तत्कालै थाहा पाउन सक्ने यादव बताउनुहुन्छ ।

स्थापना भएका स्टेसनको ‘आइडी’ सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिएको छ । बर्दिबास नगरपालिकाको ‘क्ष्द्यब्च्म्ज्ञट’ गौशाला नगरपालिकाको ‘क्ष्न्ब्ग्क्ज्द्द’ , औरही नगरपालिकाको ‘क्ष्ब्ग्च्ब्ज्क्ष्ज्ञ’ र भङ्गाहा नगरपालिकाको ‘क्ष्ख्ब्न्ब्ज्ज्ञ’ रहेको स्टेसन प्राविधिक यादवले जानकारी दिनुभयो ।

स्टेसन सञ्चालनमा आएपछि चारवटै नगरक्षेत्रका सर्वसाधारण किसान अब केही दिनसम्मको मौसमबारे केही दिनपहिले नै जानकारी हुने कुराले उत्साहित भएका छन् । “हामी त त्यस्ता मोबाइल हेर्न, लेखपढ गर्न जान्दैनाँै, तर घरकै भाइभतिज, छोराछोरी हेर्न जान्ने छन्”, भङ्गाहा–४ का ६० वर्षीय किसान सत्यनारायण यादव भन्नुहुन्छ, “यो त पुराणमा सुनेजस्तै पो देख्न, बुझ्न पाइने भइयो ।”

अब मौसमबारे पाइने पूर्वजानकारीअनुसार खेतीपातीका काम हेर्न, गर्न सकिने भए प्राकृतिक कारणबाट हुने खेतीपातीको क्षति कम गर्न सकिने किसानले आश पालेका छन् । यस्ता स्टेसन जिल्लाका अन्य स्थानीय तहमा पनि स्थापित गरिनुपर्ने माग बढ्दो छ । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित जम्मा १५ स्थानीय तह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments