बेनी बजार र बगरफाँट जोड्ने बेलिब्रिज निर्माण सुरु

बेनी, म्याग्दी सदरमुकाम बेनी बजार र पर्वतको जलजला गाउँपालिका–२ र ३ समेटिएको बगरफाँटलाई जोड्ने गरी कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सुरु गरिएको छ ।   
   
बेनीदेखि बगरफाँट जोड्ने सडक कालीगण्डकी नदी कटानले बगाएपछि विगत दुई वर्षदेखि बगरफाँटवासी सडक सुविधाबाट वञ्चित बनेका थिए । बगरफाँटवासीको समस्यालाई दृष्टिगत गर्दै जलजला गाउँपालिका र बेनी नगरपालिकाको समन्वयमा बेनीको कालीपुलदेखि बगरफाँट जोड्ने गरी बेलिब्रिज निर्माण सुरु गरिएको जलजला वडा नं २ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभयो ।   
   
बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन बिल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी रु एक करोड ६० लाखमा ठेक्का सम्झौता गरेको छ । बेनी–जोमसोम सडकअन्तर्गत पोखरे बगरस्थित कालीगण्डकी नदीमाथि पक्की नयाँ पुल बनेपछि प्रयोगविहीन बनेको बेलिब्रिजलाई स्थानान्तरण गरेर कालीपुलमा जडान गर्ने गरी सम्झौता भएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो ।   
   
पुल बन्ने स्थलको नापजाँचपश्चात् निर्माण कम्पनी कार्य क्षेत्रमा परिचालन भएको छ । ५४ मिटर लामो बेलिब्रिजका लागि निर्माण कम्पनीले बेनीबजारतर्फ कालीगण्डकी नदी किनारमा जग खन्ने काम अघि बढाएको निर्माण कम्पनीका सञ्चालक निरज भण्डारीले बताउनुभयो ।   
   
उहाँले बाढी र अन्य कुनै समस्या तथा अवरोध नभए निर्धारित समयभन्दा अगावै पुल निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको जानकारी दिनुभयो । सिधा सवारी अवरुद्ध भएपछि पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटवासीले आन्दोलनसमेत गर्दै आएका थिए । करिब तीन सय घरधुरीको बसोबास रहेको बगरफाँटमा सिधा सडक सञ्जाल नहुँदा दैनिक उपभोग्य वस्तु मान्छेले नै बोक्नुपर्ने र निर्माणका सामग्री ढुवानी गर्दा आठ किलोमिटर दूरीको घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments