प्रज्ञा स्मृति साइक्लिङ म्याराथनको उपाधि सशस्त्रका सुरजलाई

चितवन, दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन, २०७९ को उपाधि सशस्त्र प्रहरीका सुरज रानामगरले प्राप्त गर्नुभएको छ । उहाँले निर्धारित ६५ किलोमिटर दूरी एक घण्टा ५४ मिनेट ३८ सेकेन्डमा पार गर्दै उपाधि हात पार्नुभएको हो ।   
   
दिवङ्गत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिका स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष साइक्लिङ म्याराथनको आयोजना गर्दै आएको छ । म्याराथनमा सात विधामा खेलाडीले उपाधि हात पारेका छन् । प्रतिष्ठानले आगामी वर्षदेखि अन्य विधाका खेलकुद पनि थप गर्ने प्रतिष्ठानका अध्यक्ष रेनु दाहालले जानकारी दिनुभयो । सात विधामा भएको म्याराथनमा पुरुष इलाइटतर्फ सशस्त्र प्रहरी बलका सुरज रानामगरले पहिलो स्थान हात पर्नुभएको हो । मगर गत वर्षको समेत विजेता हुनुहुन्छ । उहाँले उपाधिसँगै नगद रु ५० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै नेपाल त्रिभुवन आर्मी क्लबका सुरेश भुजेलले एक घण्टा ५४ मिनेट ३८ सेकेन्ड ५२ मिलीसेकेन्डमा पारे गर्दै दोस्रो स्थान हासिल गरी नगद रु ४० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नुभयो ।   
   
पुरुषतर्फको तेस्रो स्थान अमेरिकी नागरिक केलेभ हब ब्याण्डले प्राप्त गर्नुभयो । उहाँले नगद रु ३० हजार शिल्ड र प्रमाणपत्र हात पार्न सफल हुनुभयो । यस्तै काभ्रेका अच्युतकृष्ण खरेल र नेपाल आर्मीकै हिमाल थनेतले क्रमशः चौथो र पाँचौँ स्थान हासिल गर्नुभयो ।   
   
यसैगरी महिला इलाइटतर्फ काठमाडौँकी लक्ष्मी मगरले एक घण्टा ५७ मिनेट १७ सकेन्डमा सो दूरी पार गर्दै महिलातर्फको पहिलो उपाधि हासिल गर्नुभयो । उहाँ साउथ एसियन खेलकुदको गोल्ड मेडलिष्ट हुनुहुन्छ । प्युठानकी हुमी बुढामगरले दुई घण्टा ११ मिनेट ४५ सेकेन्ड निर्धारित दूरी पार गरी दोस्रो बन्नुभयो । इन्द्रकुमारी तामाङ दुई घण्टा २८ मिनेट ४४ सेकेन्डमा पार गर्दै तेस्रो बन्न सफल हुनुभयो ।   
   
यस्तै पुरुष मास्टरतर्फ हर्क लामाले निर्धारित दूरी एक घण्टा ५७ मिनेटमा पार गर्दै उपधि हात पार्नुभयो । विकास महर्जनले एक घण्टा ५७ मिनेट पाँच सेकेन्डमा पार गर्दै दोस्रो र बाँकेका देवबहादुर बोहराले दुई घण्टा सात मिनेट १४ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हात पार्न सफल हुनुभयो ।   
   
यसैगरी पुरुष जुनियरतर्फ मोरङका किरण लिम्बूले एक घण्टा ५५ मिनेट ३९ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हात पार्नुभयो । ललितपुरका अश्विन खत्रीले दुई घण्टा १२ मिनेट तीन सेकेन्डमा सो दूरी पार गरी दोस्रो बन्नुभयो भने नवलपुरका सचिन सहनीले दुई घण्टा २४ मिनेट २५ सेकेन्डमा पार गर्दै तेस्रो बन्नुभयो ।   
   
यस्तै महिला जुनियरतर्फ सुनसरीकी विदिशा चौधरी पहिलो, बाँकेकी साया थापा दोस्रो र चितवनकी निति गुरुङ तेस्रो बन्नुभयो । यसैगरी चितवन विशेष पुरुषतर्फ प्रनित थापा प्रथम, रोनिश कर्मचार्य दोस्रो र सन्दीप श्रेष्ठ तेस्रो बन्नुभएको थियो । यस्तै महिलातर्फ मेरिना रानामगर पहिलो, जुना श्रेष्ठ दोस्रो र नीति गुरुङ तेस्रो हुनुभयो । प्रतियोगितामा देशभरबाट ७० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।   
   
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मकट्टेलले बागमती प्रदेश सरकारले खेलकुद विकासका नयाँ रणनीतिका साथ अगाडि बढेको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको विकासबाटै बागमती प्रदेशमा समृद्धि हासिल हुने बताउनुभयो ।   
   
यस्तै प्रतिष्ठानका अध्यक्ष एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको रफ्तारमा अगाडि बढेको भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने क्रममा रहेको बताउनुभयो । भरतपुरलाई साइकल सिटीका रूपमा विकास गर्न साइक्लिङ म्यानराथन महत्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments