म्याग्दीको बेनी बगरफाँटमा खेल मैदान

गलेश्वर, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवाले रु २२ लाखमा खेल मैदान निर्माण गरेका छन् । सदरमुकाम बेनी बजारदेखि १५ मिनेटको दूरीमा रहेको बगरफाँट गाउँका युवाले खेलकुदको माध्यमद्वारा गाउँलाई चिनाउने र समाजलाई सङ्गठित बनाउने उद्देश्यले सो खेल मैदान बनाएका हुन् । युवाकै अगुवाइ र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र सय मिटर लम्बाइको खेल मैदान निर्माण भएको हो । सो खेल मैदानमा आगामी चैत २८ गतेदेखि रु एक लाख पुरस्कार राशिको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको रिभरसाइड युवा क्लब बगरफाँटका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो ।   
   
विसं २०७५ मा रु पाँच लाख, २०७६ सालमा रु सात लाख र २०७७ सालमा रु १० लाख बजेट बेनी नगरपालिका र प्रदेश सरकारबाट माग गरी खेलकुद मैदान निर्माण गरिएको हो । सोही खेलकुद मैदानलाई अहिले युवाले श्रमदान र देश विदेशमा रहेका व्यक्तिबाट सहयोग उठाइ रु पाँच लाख खर्च गरेर व्यवस्थित बनाएका छन् । चैत २८ गते हुने फुटबल प्रतियोगिताका लागि यहाँका युवा एक महिना अघि देखि नै तयारीमा जुटेका छन् । फुटबल प्रतियोगितामा करिब रु आठ लाख खर्च हुनेछ । “मैदानको स्तरोन्नति गर्ने र आर्थिक स्रोत जुटाउने अभियानमा छौँ, सबैतिरबाट सहयोग प्राप्त भइरहेको छ”, अध्यक्ष थापाले भन्नुभयो, “खेलकुदको माध्यमद्वारा हामीले समाजलाई सङ्गठित बनाउने र देश विदेशमा चिनाउने लक्ष्य लिएका छौँ ।”   
   
“हामीलाई विदेशमा रहनुभएका अग्रज दाइहरु र साथीहरुबाट आवश्यक सहयोग र मार्गदर्शन प्राप्त भइरहेको छ, उहाँहरुको साथ र सहयोगले नै हामीमा केही गरौँ भन्ने भावना विकसित भएको हो”, रिभरसाइड युवा क्लबका सल्लाहाकार एवं बगरफाँटका सक्रिय युवा नारायण थापाले बताउनुभयो । बगरफाँट खेलाडीको गाउँ पनि हो । यहाँका युवा जिल्ला र प्रदेशस्तरका विभिन्न खेलकुद प्रतियोगितामा पुरस्कृत र सम्मानित हुँदै  आएका छन् । गत माघ दोस्रोे साता पोखरामा सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा यहाँको रिभरसाइड क्लबले प्रथम र द्वितीय स्थान प्राप्त गर्दै रु एक लाख ५० हजार पुरस्कार जितेको थियो ।   
   
अविनास तामाङ पे्रसिडेन्ट दोस्रो केआइसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लबले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो । पोखरा र पोखरा बाहिरका गरी २२ टिम सहभागी प्रतियोगितामा रिभरसाइड बगरफाँट युवा क्लब प्रथम हुँदै रु एक लाख पुरस्कार प्राप्त गरेको सचिन कार्कीले जानकारी दिनुभयो । पोखरास्थित भद्रकाली एफसी पोखराले आयोजना गरेको पहिलो भद्रकाली ओपन फुटसल प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्न सफल भएको थियो । विभिन्न २४ टिम सहभागी उक्त प्रतियोगितामा दोस्रो भएको क्लबले रु ५० हजार नगदसहित पुरस्कार प्राप्त गरेको हो । जिल्लास्तरमा हुने कुनै पनि प्रतियोगिताबाट रित्तो हात फर्किन नपरेको क्लबका सचिव कार्कीले बताउनुभयो । पछिल्लो समय बगरफाँटका युवा सङ्गठित भई खेलकुद, सामाजिक र जनचेतनामूलक काममा लागेका छन् । यहाँका युवाले कोरोना कालमा घरघरमा पुगेर औषधि, मास्क, स्यानिटाइजरलगायतका सामग्री वितरण गर्ने काम गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments