पर्याप्त पानी नहुँदा धान रोपाइँ प्रभावित

ओखलढुंगा : रोपाइँको सिजन सकिन लाग्दा ओखलढुंगामा आधा मात्रै रोपाइँ भएको छ। पर्याप्त पानी नहुँदा धान रोपाइँ प्रभावित भएको हो। जिल्लाका विभिन्न स्थानमा असारको पहिलो सातादेखि साउन १५ सम्म रोपाइँ गरिन्छ। तर, यो वर्ष असार २५ गतेदेखि मात्रै मनसुन सुरु भएकाले रोपाइँ हुन नसकेको किसानले बताए।

‘पानी नपर्दा आधाभन्दा बढी रोपाइँ सकिने बेलासम्म सुरु नै भएन, अहिले पनि धेरै खेत बाँझै छन्’, गाम्नाङ्टारका किसान पुष्प भट्टराईले भने। भट्टराईका अनुसार अझै लिखु गाउँपालिकाका आधाजसो खेत बाँझै छन्। यसको मुख्य कारण पानी अभाव हुनु हो।

लिखु मात्रै होइन जिल्लाका अधिकांश भूभागमा पानी पर्याप्त नहुँदा रोपाइँ हुन सकेको छैन। पानी नहुँदा धान रोपाइँ नभएको चिसंखुगढीका किसान रमेश मगरले बताए। उनले भने, ‘बीउ राख्ने समयदेखि पानी परेन, असार अन्तिमतिर दुई चार दिनको वर्षातमा खहरे उर्लियो तर, मूल नपलाएपछि रोप्न पाइएन।’ केही दिनको वर्षाले गएको बाढी पहिरोले क्षति पुर्‍याए पनि पानीका मूल नपलाउँदा ओखलढुंगाका अधिकांश गाउँमा अझै आधा रोपाइँ हुन सकेको छैन।

पानी नहुँदा रोपाइँ प्रभावित भएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक टीका बानियाले बताए। उनले खोलाबाट कुलो ल्याएर सिँचाइ गरिने खेतमा मात्रै रोपाइँ भएको र मूल नपलाउँदा पाखा खेत बाँझै रहेको बताए। उनका अनुसार सिजन सकिँदा ओखलढुंगामा आधा मात्रै रोपाइँ सकिएको छ। उनले अन्नपूर्णसँग भने, ‘झन्डै झन्डै ६० प्रतिशत जति रोपाइँ भयो होला।’

ओखलढुंगाको २९ हजार ६ सय ७५ हेक्टर खेतियोग्य जमिनमध्ये ६ हजार ६ सय ५ हेक्टर खेत छ। यसको धेरैजसो भाग आकाशेपानीका भरमा रोपाइँ गरिन्छ। धान ओखलढुंगाको मकैपछिको दोस्रो मुख्य खाद्यबाली हो। जिल्लाभर अघिल्लो वर्ष ६ हजार ४ सय हेक्टरमा १९ हजार ४ सय ७० मेट्रिक टन धान उत्पादन भएको थियो।
अन्नपुर्णपोस्ट

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments