मकै जोन गुल्मीले मकै किसानका लागि विषादी वितरण

तम्घास : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, मकै जोन गुल्मीले मकै किसानका लागि विषादी वितरण गरेको छ । गबारो, फौजी र अमेरिकी फौजी कीराबाट मकै खेतीमा क्षति पुग्न थालेपछि राष्ट्रिय समाचार समितिले त्यससम्बन्धी समाचार यही जेठ १८ गते सम्प्रेषण गरेको थियो । त्यसलगत्तै परियोजनाले परियोजना लागु भएका तथा अन्य क्षेत्रमा समेत कीरा नियन्त्रण गर्ने विषादी वितरण गरेको हो ।

परियोजनामा चालु आर्थिक वर्षमा बालीमा लाग्ने रोग–कीरा नियन्त्रणका लागि बजेट विनियोजन भएको थिएन । अन्य शीर्षकमा भएको रकम कटौती गरी त्यसैबाट विषादी खरीद गरी किसानलाई निःशुल्क प्रदान गरिएको परियोजनाका कृषि अधिकृत समिर मगरले जानकारी दिनुभयो । ‘माटो तथा बाली संरक्षण’ शीर्षकमा कुल रु एक लाख ५० हजार थियो । नेपालगञ्जबाट प्राविधिक ल्याई माटो परीक्षण गर्नुपर्नेमा लकडाउनले उक्त कार्यक्रम भएको छैन । यस वर्षको बजेटमा ‘उन्नत प्रविधि प्रदर्शन’ शीर्षकअन्तर्गतको रु ३३ हजार एक सय तथा मकै जोन सञ्चालक समितिको खाताबाट रु १८ हजार ३३० को विषादी खरीद गरी जिल्लाका विभिन्न स्थानका कृषकलाई कुल रु एक लाख ७० हजार बराबरको औषधि वितरण गरिएको मगरले जानकारी दिनुभयो ।

हजार कृषक लाभान्वित
मकै जोन परियोजना जिल्लाका पाँच स्थानीय तहका १९ वटा वडामा लागु भएको छ । परियोजना लागु भएका क्षेत्रभन्दा बाहिरका कृषकका लागि पनि विषादी वितरण गरिएको छ । इस्मा गाउँपालिकामा एक हजार ४८० रोपनी, रेसुङ्गा नगरपालिकामा ६५० रोपनी र धुर्कोट गाउँपालिकामा ३६२ रोपनी जग्गालाई पुग्ने विषादी वितरण गरिएको हो ।

त्यस्त गाउँपालिका मदानेमा ६७० रोपनी र मालिकामा २८९ गरी तीन हजार ७८३ रोपनी अर्थात् १८९.१५ हेक्टर जमीनलाई पुग्ने विषादी वितरण गरिएको परियोजनाका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले जानकारी दिनुभयो । कुल ३७ कृषक समूह, आठ कृषि सहकारी र तीन निजी फर्मलाई विषादी प्रदान गरिएको छ । साथै परियोजना लागु नभएका क्षेत्र मुसिकोट नगरपालिका तथा गुल्मीदरबार गाउँपालिकाका कृषकलाई समेत निःशुल्क विषादी वितरण गरिएको छ । यसरी परियोजनामा समावेश भएका ७५८ र नभएका २५० गरी एक हजार ५८ कृषक लाभान्वित हुने गरी विषादी प्रदान गरिएको अधिकृत काफ्लेले जानकारी दिनुभयो ।

रेसुङ्गा नगरपालिका– ५ का बाबुराम खनालले १० रोपनी जग्गामा मकै लगाउनुभएको छ । केही समय पहिले गबारो र फौजी कीराले धेरै क्षति पु¥याएको थियो । यदि मकैमा कुनै विषादी प्रयोग नगरेको भए मुश्किलले आठ क्विन्टल जति मकै उत्पादन हुन्थ्यो । अहिले विषादी प्रयोग गरिसकेपछि १२ क्विन्टलजति मकै फल्ने अनुमान उहाँले गर्नुभएको छ । ‘मेरो मात्र नभएर सबैको समस्या एउटै थियो, परियोजनाले निःशुल्क विषादी दियो ।’ उहाँले भन्नुभयो, ‘कीराको प्रकोप कमजोर भएको छ ।’ (रासस)

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments