सामाजिक सञ्जालबाट खसीबोका बेच्दै बाख्रापालक कृषक

सन्तोष गौतम
बेनी : लकडाउनको समयमा म्याग्दीका कृषकले सामाजिक सञ्जालमार्फत बाख्रा र खसीबोकाको बजारीकरण गर्न थालेका छन्। बोयर जातका बाख्रा र बोका पालन गर्ने कृषकको ब्यापारमा कोरोना र लकडाउनले असर गरेको छैन। उनीहरूले सामाजिक सञ्जाल ‘फेसबुक’को प्रयोग गरेर बोका र बाख्राको बजारीकरण गरेका हुन्।

लकडाउन सुरु भएयता तीन वटा बोयर बोका बिक्री गरेको बेनी नगरपालिका–३ भकिम्लीको श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक धनबहादुर श्रीसले बताए। ‘बोका र बाख्राको तस्बिर फेसबुकमा राखेपछि बुक गरेका थिए’, उनले भने, ‘बैंकमा पैसा पठाए। गाडी लिएर घरमै लिन आए।’

एक वटा बोका धनकुटा र दुई वटा बागलुङको काठेखोला गाउँपालिकामा बिक्री गरेको उनले बताए। बेनी नगरपालिका–१ सारेमारेका नरबहादुर थापाले पनि सामाजिक सञ्जाल फेसबुककै माध्यमबाट लकडाउनका बीच अन्नपूर्ण गाउँपालिकामा आठ वटा बोका बेचेका छन्।

लकडाउनको असहज अवस्थामा सामाजिक सञ्जाल र अनलाइनको सुविधाका कारण खसीबोका खरिद बिक्री गर्न कृषकलाई सहज भएको छ। छिटो बढ्ने र धेरै तौल हुने विशेषता भएको बोयर जातको एउटै बोका दुई लाख ५० हजार मूल्यमा बिक्री भएको श्रीसले बताए।

अस्ट्रेलीयाबाट दुई वर्षअघि चार वटा बाख्रा ल्याएका श्रीसको फार्ममा अहिले सबै ३० वटा बोयर जातका बोका र बाख्रा छन्। एक वर्षयता प्रजननका लागि ३० वटा बोका र बाख्रा देशका विभिन्न ठाउँका व्यावसायिक फार्म र कृषक समूहलाई बिक्री गरेका छन्। गर्भमै अग्रिम पैसा दिएर बोका बुक गर्छन्।

श्रीसले २०६८ मा विदेशबाट फर्किएपछि स्थानीय जातका बाख्रापालन सुरु गरेका थिए। कृषक समूहको भ्रमणमा जाने क्रममा चितवनमा बोयर बाख्रा देखेपछि यसप्रति आकर्षित भएको उनले बताए।

बोका र माउ बाख्राको माग बढेको छ। फार्ममा बाख्राको संख्या १०० पुर्‍याउने श्रीसको योजना छ। बैंकबाट दुई लाख ऋण लिएर सुरु गरेका थिए। उनको फार्ममा अहिले ७० लाख रुपैयाँ लगानी पुगेको छ।

श्रीसलाई बाख्रापालनका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्राविधिक सहयोग गरेको छ। राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले यो फार्मलाई बोयर बाख्राको बाह्य स्रोत केन्द्रको मान्यता दिएको छ।

बाख्राको आहारा आपूर्तिका लागि ६० रोपनी पाखोबारीमा भूइँ र डाले घाँस खेती गरेका छन्। डाँडाखानी गाउँका २५ घरधुरीले समूहमार्फत स्थानीय जातका बाख्रामा बोयरको नश्ल सुधार गरेका छन्।

दक्षिण अफ्रिकामा पाइने बोयर जातका बाख्रा र बोका हेर्दा बलियो र खँदिलो मासु भएको हुन्छ। प्राय सेता वा खैरो वा दुवै रङ मिसिएको बोयर बाख्राको घाँटी र टाउको खैरो रङको हुन्छ। सबैको टाउको र घाटीको रङ एकै हुन्छ।

बोयर जातका बाख्राले धेरै थरि रोग प्रतिरोध गर्न सक्षम हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुम बताउँछन्। बोयरको पाठा पाठी छिटो बढ्ने यसको मुख्य विशेषता हो। ९० दिनमै ३६ किलोग्रामसम्म तौल हुन्छ। दैनिक २०० देखि ३०० ग्रामका दरले तौल बढ्छ।

बयस्क बोयर बाख्रा तथा बोकाको तौल १५० किलोग्राम हुन्छ। बोयर खसी, बोका र मासुका लागि विश्वमै प्रख्यात छ। नेपालमा कृषकले स्थानीय खरी, बारबरी र जमुनापारी जातका बाख्रासँग बोयरलाई क्रस गराउन थालेकाले यस बोकाको माग उच्च छ।

एक पटकमा सामान्यतया दुई वटा पाठापाठी जन्माउने बोयर बाख्रा दुई वर्षमा तीन पटकसम्म ब्याउँछ। अन्य जातका बाख्रा जस्तै घरमा घाँस र दाना खुवाएर बोयर पाल्न सकिने तोरीपानीको धौलागिरि बाख्रा फार्मका सञ्चालक आनन्द रिजालले बताए। आजको अन्नपुर्ण पोस्टमा खबर छ

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments