लोप हुँदै असला माछा

दुल्लु: असला माछाले प्रख्यात दैलेखका छामघाट, रामघाट, कट्टी र एक दर्जन खोलामा पछिल्लो समयमा ती माछा पाउन छाडेका छन् । यहाँका अधिकांश खोलामा निकै स्वादिलो र सबैले रुचाउने लोपोन्मुख असला माछा पाउन छाडेको जलारीहरु बताउँछन् । पहिले निकै खोलामा पाउने र ग्राहकले खोलाबाटै लैजाने गरेको भए पनि अहिले ती माछा लोप हुँदै गएको उनीहरुको अनुभव छ । लोपोन्मुख असला माछा खोलामा नहुने र अन्य माछा पनि कम हुँदै जाँदा आफूहरुको पेशा सङ्कटमा परेको जलारीहरुको गुनासो छ ।

पहिलेपहिले जाल खेल्दै जाँदा पाँच÷छ पटकमा आफ्नो फुर्लुङ भरिने र अहिले दिनभर खोलामा हिँड्दा पनि एकछाक खान पुग्ने माछा बनाउन मुस्किल हुने भैरवी गाउँपालिका–१ का दीपक कार्कीले अनुभव सुनाउनुभयो । छामघाट खोलामा ३० वर्षदेखि जाल हान्दै माछा मार्ने कार्की अहिले असला माछा पाउन छाडेको बताउनुभयो । केही महिनायता खोलामा विष हाल्ने र करेन्ट लगाउने कारणले पनि असला माछा पाउन छाडेको उहाँको भनाइ छ ।

छामघाटखोला मात्र होइन पछिल्लो समयमा जिल्लाका अधिकांश खोलामा विष हाल्ने र करेन्ट लगाएर माछा मार्नेको सङ्ख्या बढेको छ । स्थानीय सरकारले जल गुरुयोजना तयार गरी खोलाका माछा अवैधरूपमा मार्न रोक लगाए पनि विष हाल्ने र करेन्ट लगाउने काम रोक्न सकिएको छैन । भैरवी र माहाबू गाउँपालिकाले प्रहरी परिचालन गरी त्यस क्षेत्रमा रहेको छामघाट खोलामा विष हाल्न र करेन्ट लगाउन प्रतिबन्ध लगाएको छ तर लकडाउनमा यी कार्य नरोकिँदा त्यसको प्रत्यक्ष असर लोपोन्मुख असला माछा र माछा मार्ने व्यवसायीमा परेको छ । लकडाउन अघिसम्म त्यस्ता गतिविधि नियन्त्रण गर्न दुई गाउँपालिकाको समन्वयमा छामघाट खोलामा रहेको खोली बजारमा अस्थायीरूपमा प्रहरी परिचालन गरिएको थियो ।

“दुई गाउँपालिकाको सिमानामा बग्ने छामघाट खोलामा अवैधरूपमा माछा मार्ने कार्य रोक्न प्रहरी परिचालन गरेका थियौँ, अहिले बाध्यताले उहाँहरुलाई यो महामारीमा पालिका मुकाम केन्द्रित गर्नुप¥यो, अहिले फेरि विष हाल्ने र करेन्ट लाउनेहरुको सङ्ख्या बढेको सूचना आएको छ”, भैरवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर बुढाले बताउनुभयो ।

खोलामा विष हाल्दा र करेन्ट लगाउँदा अधिकांश माछा मरेर जाने र बचिहाले नपुंसक हुने जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताउनुभयो । जिल्लाभरि एक दर्जनभन्दा बढी साना तथा ठूला खोलामा माछा पाइने भए पनि लोपोन्मुख असला माछा भने छामघाट खोला, लोहोरे खोला र रामघाट खोलामा बढी मात्रामा पाइन्छ । (रासस)

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments