एउटै वडामा १४० क्विन्टल लसुन उत्पादन

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० का किसानले करिव १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुनलगायतका गाउँमा लसुनखेती गर्ने गरिन्छ ।

उत्पादित लसुन जिल्ला बाहिर निर्यात भएको छ । वडा सदस्य धनबहादुर खड्काले १०६ क्विन्टल लसुन जिल्ला बाहिर निर्यात हुँदा रु १३ लाख भित्रिएको जानकारी दिए । यसबाट किसानले रु २०/२५ हजारदेखि सवा लाख बढीसम्म आम्दानी गरेका छन् ।

वडा कार्यालयको पहलमा तीन लाख ५० हजार मूल्य बराबरको ३४ क्विन्टल लसुन बीउका लागि गाउँमै राखिएको छ । यो वर्ष किसानले लसुनमा प्रतिकिलो रु १०० पाएका छन् । गत वर्ष प्रतिकिलो रु ८० मा लसुन बिक्री गरेका थिए ।

उत्पादित लसुनले बजार पाएपछि किसान हर्षित भएका छन् । दाङका व्यापारीले गाउँमै आएर लसुन खरिद गरेर लगेको किसानले बताएका छन् । दुई वर्ष अगाडिसम्म लसुनले बजार नपाएर चिन्तित बनेका किसानहरु गत वर्षदेखि भने वडा कार्यालयको पहलमा बजार पाएपछि लसुनखेतीमा आकर्षित भएका छन् ।

वडाका धेरै ठाउँमा लसुनखेती हुन थालेको किसान झुपलाल खड्काले जानकारी दिए । “उत्पादित लसुनले बजार पाउन थालेपछि वडाका धेरै ठाउँमा लसुनखेती हुने गरेको छ”, उनले भने, “गाउँबाटै व्यापारीले लसुन उठाउने गरेका छन्, सजिलै बिक्री हुन थालेपछि लसुन उत्पादनमा धेरैको आकर्षण बढेको छ ।”

उनले रु एक लाख २३ हजार मूल्यको लसुन बिक्री गरेको जानकारी दिए । यसैबीच वडा कार्यालयले नै किसानका लागि बीउको व्यवस्था गर्ने गरेको छ । यसका लागि दुई हजार २०० किलो लसुनको बीउ वितरण गरेको वडा कार्यालयले जनाएको छ । यसका साथै बजारीकरणमा पनि ध्यान दिएको वडाको भनाइ छ । स्थानीयसहित जिल्ला बाहिरका व्यापारीलाई गाउँमा ल्याउने काम वडाले गरिरहेको वडाध्यक्ष गोप्यश्वर केसीले बताए। रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments