बन्दाबन्दीमा फलफूलका बिरुवाको माग बढ्यो

पाल्पा। सुन्तलाको केस्राभित्रको दाना (बिँया) बाट पनि राम्रो आम्दानी हुन सक्छ भन्दा अनौठो लाग्छ ।

सुन्तलाको केस्रा खादा भेटिएको बिँयालाई बिउका लागि सुरक्षितसाथ सङ्कलन गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका सुन्तला किसानले बन्दाबन्दीको अवधिमा सुन्तलाको बिउबाट उत्पादित बिरुवाको कारोबारबाट राम्रो आम्दानी गरेका छन् ।

सो गाउँपालिका–४,सल्लेधाराका ददीराम पोखरेलले झण्डै चार हजार सुन्तला, कागतीको बिरुवाबाट रु. २ लाख बढी आम्दानी भएको बताए। “सुन्तला, कागतीका बिरुवाको कारोबार नगदमा हुने हुँदा लकडाउनमा गोजी रित्तो छैन । दैनिक सयदेखि हजारसम्म बिरुवा बिक्री गर्छु”, कृषक पोखरेलले भने। गुल्मी र अर्घाखाँचीका स्थानीय तहमा बिरुवा निर्यात भएको हो । स्थानीय तहका प्रमुखहरु नर्सरीको अध्ययन र बिरुवा बोकेर जान्छन् । सुन्तला, कागती, जुनार लगायतका बिरुवा पाल्पाको बगनासकाली गाउँपालिका र रैनादेवी गाउँपालिकाबाट निकै माग भएको पोखरेल बताउँछन् ।

एउटा सुन्तला, कागतीबाट आठदश ओटा बिरुवा हुर्काउन सकिन्छ । प्रति सुन्तला, कागतीका बिरुवालाई रु. २५ र कलमी बिरुवा रु. ४५ मा घरै बिक्री हुन्छ । रैनादेवी छहरा गाउँपालिकाको अम्लाबासका मन बहादुर बगालेले बन्दाबन्दीको अवधिमा नौ हजार सुन्तला बिरुवा बेचेको बताए। ति बिरुवा तानसेन नगरपालिकाको बासटारी क्षेत्र, रैनादेवी छहरा गाउँपालिकाको मुझङ्ग, भुवनपोखरी, सोमादी लगायतका स्थानमा बिक्री भएको हो । बिरुवा बेच्न यस वर्ष समस्या छैन ।

गत वर्ष असार साउनमा मात्र बिरुवा बिक्री हुने गरेकोमा यसवर्ष जेठमै बिरुवा सकिने देखिएको छ । अम्लाबासका विष्णु कोइरालले ५ हजार सुन्तला, कागती, जुनारका बिरुवाको जिल्ला बाहिरबाट माग आएको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय गुल्मी र पर्वतबाट सुन्तला, कागतीका बिरुवाको माग आएको छ । गत आर्थिक वर्षमा १५ हजार भन्दा बढी बिरुवा बिक्रीबाट झण्डै रु चार लाख आम्दानी भएको उहाँ बताउँछन् ।

अम्लाबासकै नर्सरी सञ्चालक खुमबहादुर बगालेले उत्पादित फलफूलका बिरुवाको माग बढ्दो रहेको बताए । रिब्दीकोट गाउँपालिकाबाट १३ हजार सुन्तलाको बिरुवा र सात हजार बगनासकाली गाउँपालिकाबाट कागतीको बिरुवाको माग आएको उहाँको भनाइ थियो । रैनादेवी छहरा गाउँपालिकाले आवश्यकता अनुसारका बिरुवा मागका छन् । व्यक्तिगतरुपमा बिरुवाको माग बढ्दो छ । कोरोना महामारी देखिएपछि पाल्पालगायतका पहाडी जिल्लामा गाउँ फर्केका युवामा व्यावसायिकरूपमा सुन्तला खेतीप्रति रुचि बढेपछि सुन्तला, कागतीका बिरुवाको माग बढ्ेको छ ।

गाउ फर्केका युवा घरबारीमा सुन्तला, कागती, जुनार जस्ता बोटबिरुवा लगाउन व्यस्त देखिएका छन् । यस वर्ष वर्षा भइरहँदा छिटो फलफूलका बिरुवा रोपिएको हो । रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले अनुदानमा सुन्तलाका बिरुवा वितरण गर्ने योजना रहेको बताए। गाउँपालिकाले बाँझो जमिनमा अन्नवाली तथा फलफुल खेती गर्ने किसानलाई रु तीनदेखि पाँच हजारसम्मको अनुदानको व्यवस्था गरिएकाले युवाहरु सो खेतीप्रति आकर्षित देखिएको उनले बताए ।

जिल्लामा पाँच हजार ६६० टन हाराहारी सुन्तला उत्पादन हुनेमा गत गत आर्थिक वर्षमा रु ११ करोड बढी किसानले आम्दानी गरेका थिए । पाल्पामा ८५३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले बताए । हिमाल फर्किएको जमिन व्यावसायिक सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको सोमादी, भुुवनपोखरी, मुझुग, छहरामा राम्रो सुन्तला उत्पादन हुन्छ । यस क्षेत्रका किसानले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्छन् । रिब्दीकोट गाउँपालिकाको पालुमैनादी, कुसुमखोला, भैरवस्थान, खस्यौली, बगनासकाली गाउँपालिकामा व्यावसायिक सुन्तला खेती हुन्छ ।

सुन्तला तथा फलफुल विकास केन्द्र पाल्पामा वार्षिक ३२ हजार सुन्तलाका बिरुवा उत्पादन हुने केन्द्रका प्रमुख बमबहादुर थापाले बताए। पाँच हजार सुन्तलाका बिरुवा बिक्री भइसकेको छ । सुन्तला कागतीको माग थामिनसक्ने गरी आएको प्रमुख थापाको भनाई छ । पाल्पाका स्थानीय तहलाई प्राथमिता राखेर बाँकी सुन्तला कागतीका बिरुवा केन्द्रीय कार्यालयमा पठाउने बताइएको छ । पाल्पामा उत्पादित सुन्तलाका बिरुवा म्याग्दी, पर्वत, बागलुङलगायतका जिल्लामा निर्यात हुन्छ । आर्थिक वर्ष २०७५÷७६ मा सुन्तला तथा फलफूल विकास केन्द्र पाल्पाले बाहिरका जिल्लामा बिरुवा निर्यात गरी रु आठ लाख आम्दानी गरेको थियो । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments