पहाडतिर लाग्यो सलह ,किसान त्रसित

बुटवल, असार १५ गते । शनिबार तराई जिल्लामा भित्रिएको सलह पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा पुगेको छ । सलहले तराई क्षेत्रमा ठूलो क्षति नगरे पनि पहाडी जिल्लाहरूमा क्षति पुग्ने भएकाले सचेत हुन अधिकारीहरूले सचेत गराएका छन् ।
आइतबार बसेको प्रदेश सभाको बैठकमा यसबारे बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सलहविरुद्ध विशेष राहत प्याकेज ल्याएको बताउनुभयो ।

प्रदेश सरकार सचेत
बुटवल समाचारदाताका अनुसार प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शनिबार एक्कासि आकासमा देखिएको सलहबाट कृषि बाली जोगाउन प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ । उहाँले सलह कीरा नष्ट गर्ने योजना प्रदेश सरकारले अघि बढाएको भन्दै यसमा सहयोग गर्न सबैसँग आग्रह पनि गर्नुभयो ।
प्रदेश सभाको आइतबारको बैठकमा प्रदेश सभाका सदस्यहरूले उठाएका विभिन्न प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले सलह छोपेर ल्याए प्रतिकिलोको २० रुपियाँ दिने योजनाले सलह नियन्त्रणमा सहयोग पुग्ने प्रदेश सरकारले विश्वास लिएको बताउनु भयो ।

किसान त्रसित
भैरहवा समाचारदाताका अनुसार रूपन्देहीमा ठूलो सङ्ख्यामा शनिबार सलह कीरा देखिएपछि किसानहरू त्रसित बनेका छन् । तर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका प्रमुख रामप्रसाद पाण्डेका अनुसार आइतबार रुपन्देहीका कुनै पनि स्थानमा सलह कीरा देखिएको जानकारी आएको छैन ।
प्रदेश ५ कृषि निर्देशनालयले शनिबार रुपन्देहीमा भित्रिएको सलह कीराले बालीमा कुनै पनि क्षति नगरेको जनाएको छ । निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले आकाशमा उडिरहेको सलह कीरा निकै आत्तिएको जस्तो देखिएको बताउँदै बालीमा कुनै पनि क्षति नगरी पहाडी भेगतिर लागेको बताउनुभयो ।

पाल्पामा पसे
तानसेन समाचारदाता शनिबार बेलुकी पाल्पा छिरेको सलह कीरा जिल्लाको विभिन्न स्थानमा देखिएको छ । आइतबार जिल्लाको तिनाउ गाउँपालिकाका विभिन्न स्थानका जङ्गलमा बसेको र रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ को जङ्गल क्षेत्रमा उडेको अवस्थामा देखिएको छ ।
कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले सलहको समूह शनिबार बेलुकी पाल्पा छिरेको जानकारी दिनुभयो । उहाँले शनिबार जिल्लाको माथागढी, बगनासकाली, तानसेन, रिब्दीकोट र रैनादेवी छहरा क्षेत्रमा देखिए पनि आइतबार भने तिनाउको वडा नं. २, ५ र ६ र रैनादेवी छहराको वडा नं. ४, मा मात्र देखिएको बताउनुभयो । सलह पाल्पाको कुन–कुन स्थानमा बसेको र त्यसले पार्ने क्षतिका बारेमा अध्ययन भइरहेको ज्ञान केन्द्रका प्रमुख अर्यालले बताउनुभयो ।

सलहविरुद्ध पूर्वतयारी
नेपालगञ्ज समाचारदाताका अनुसार किसानका बालीलाई सखाप पार्ने कीराको रूपमा परिचित सलह हालसम्म बाँके जिल्लामा भित्रिएको नपाइएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । भारतका विभिन्न स्थानमा सलहले बाली सखाप पारेको र नेपालकै केही जिल्लामा समेत सलह प्रवेश गरेको पाइएकाले सोबारेमा बाँके र बर्दियाका किसानलाई सचेत पार्नुका साथै सलहविरुद्धको पूर्वतयारी पूरा गरिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताउनुभयो ।

गुल्मीमा पनि छिरे
तम्घास समाचारदाताका अनुसार रुपन्देही हुँदै पाल्पासम्म सलह कीरा आएपछि गुल्मीका किसानहरूमा त्रास छाएको छ । आइतबार गुल्मीको आकासमा एकैसाथ धेरै कीरा देखिएपछि स्थानीयवासी आतङ्कित बने । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार गुल्मीका कालीगण्डकी, चन्द्रकोट गाउँपालिका लगायतमा आइतबार अचानक सलह देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो ।गोरखापत्र अनलाइनमा खबर छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments