नेपाली चियाको लोगो प्रयोगमा आउँदै

कोकिला ढकाल

इलाम। नेपालमा चिया रोपिएको १५७ वर्षपछि नेपाली चियाले आफ्नो पहिचान पाउने भएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले चियाको लोगो ‘ट्रेडमार्क’ कार्यान्वयन चरणमा चिया व्यवसायीलाई स्वीकृति दिने तयारी गर्दैछ ।

बोर्डले लोगो प्रयोगका लागि चिया उद्योगी, व्यवसायीबाट निवेदन माग गरेकामा ४२ वटा निवेदन दर्ता भएको बोर्डले जनाएको छ । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ निर्देशिकाले तय गरेको मापदण्ड, ती उद्योग तथा व्यवसायीले पूरा गरे नगरेको अध्ययनपछि लोगो प्रयोग गर्न सिफारिस गर्ने बोर्डका प्रवक्ता दीपक खनालले बताउनुभयो ।प्रवक्ता खनालले आगामी भदौ महिनाभित्र लोगो प्रदान गर्ने तयारी गर्दैछौँ । लोगो माग गर्ने र मापदण्ड पूरा भएका सबैलाई सार्वजनिक रूपमै एक साथ लोगो प्रदान गर्ने छौँ, मापदण्ड पूरा नगरेकालाई मापदण्ड पूरा गर्न निर्देशन दिनेछौँ भन्नुभयो ।

लोगो प्रयोगमा ल्याइएपछि व्यवसायीले सोझै पठाउने गरेको चियालाई आफ्नो उद्योगको लोगोसहित पठाउन पाउने भएका छन् । यद्यपि व्यवसायीलाई लोगो प्रयोगको सर्त पनि छ । लोगो प्रयोग गर्नुअघि व्यवसायीले उत्पादन गरेको चियाको परिमाण, हरियो पत्ती र तयारी चियाका परिमाण बोर्डलाई देखाउनुपर्ने छ ।
कुन व्यवसायीले कति चिया निकासी गरे भन्ने सबै तथ्याङ्क बोर्डमा रहने र त्यसको अनुगमनको सजिलो उपाय रहेको पनि प्रवक्ता खनाल बताउनुहुन्छ । उहाँले यदि निर्देशिकामा भएका विषय र आचार संहितालाई उल्लङ्घन गरे दिएको लोगो खोस्न पनि सकिने छ । यो निर्देशिका र आचार संहिताले किसानलाई समेत गुणस्तरीय चिया बनाउन बाध्य गराएको छ । लोगो कार्यान्वयनपछि समितिले किसानको चियाबारी, चिया टिपाइ समेतको निरीक्षण र अनुगमन गर्ने छ भन्नुभयो ।

यस्तै उद्योगमा पनि कसरी गुणस्तरीय चिया प्रशोधन तथा उत्पादन र प्याकेजिङको काम भइरहेको छ ? त्यसको पनि कडाइका साथ अनुगमन हुनेछ । लोगो प्रयोग गरेबापत व्यवसायीले प्रतिकिलो ५० पैसा बोर्डमा जम्मा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यसरी कार्यान्वयनमा ल्याइएको लोगो आफ्नो उत्पादन निकासी हुने देशमा पनि दर्ता गराउन भने अनिवार्य छ । बोर्डले यसअघि अमेरिका, यूएई र भारतमा नेपाली चियाको लोगो दर्ताका लागि प्रक्रिया अघि बढाएको थियो ।

विदेशमा पनि आफ्नो लोगो दर्ता गराएर उत्पादित वस्तु निर्यातको अनुमति लिन प्रक्रिया भने निकै झन्झटिलो र खर्चिलो छ । प्रक्रिया भन्झटिलो भएपछि बोर्डले यूएईको प्रक्रियाबाट भने पछि हट्नु परेको प्रवक्ता खनाल बताउनुहुन्छ । उहाँका अनुसार अमेरिका र भारतमा भने नेपाली लोगो दर्ताको प्रक्रिया चलिरहेको छ ।

अहिलेसम्म जर्मनी, रसियासहित युरोपियन मुलुकमा नेपाली चिया जाने गरेको छ । नेपालबाट निकासी हुने सबै चियामा नेपालको एउटै लोगो लागेर जाँदा नेपाल र नेपाली चियाको पहिचान विदेशी बजारमा राम्रो हुने अपेक्षा लिएको केन्द्रीय चिया सहकारी संस्थाका अध्यक्ष गोविन्द दाहाल बताउनुहुन्छ ।
दाहालले लोगो प्रयोग गर्ने मापदण्ड, जम्मा भएको रकम के गर्ने भन्ने सम्पूर्ण विषयको टुङ्गो लाग्यो भने लोगो प्रयोगमा सहज हुन्छ । नेपालमा वि.सं. १९२० मा रोपिएको चियाले पहिचान पाउनु नेपालीका लागि गौरवको विषय हो भन्नुभयो ।

चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमसहित १४ जिल्लामा ५९ प्रतिशत किसानले आठ हजार आठ सय ३८ हेक्टरमा चिया खेती गर्दै आएका छन् । गोरखापत्र अनलाइनमा खबर छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments