सालको पात बन्यो सहारा !

तौलिहवा। चाउरिन लागेको अनुहार, जिङ्ग्रिङ परेको कपाल, एउटा टिनको छानामुनि बस्दै आएका दुई अधवैंशे जोडी । कपिलवस्तुको वाणगङ्गा–४ का दम्पत्ती भीम माया र रुकबहादुर रेश्मीको पहिचान हो । गाउँमा पात बच्ने बाआमा भन्दै चिनिने उनीहरुको निवासमा भाँचिनै लागेको खाट, पुराना र मैला परेका बिस्तारा र ससाना भाँडाकुँडा देखिन्छ ।

वर्षात्को पानी घरभित्र राखिएको खाटमुनि आहाल परेको छ । ती दुई जोडी बिहान जङ्गलका सालका पात टिपेर गाउँगाउँमा लैजान्छन् र पात बेचेर भएको आम्दानीबाट दैनिक गुजारा चलाउँदै आएका छन् । उनीहरुको घर बाँसका कुहिन लागेका भाटा तेर्साएर त्यसमाथि च्यातिएको कपडाले बेरेको शौचालय जस्तो बास बस्ने थलोमा साँच्चीकै कष्टकर जीवन बिताउँदै आएका छन् ।

बुढ्यौली शरीर, जिउमा गतिला कपडा छैनन् । घरमा अन्नको गेडो छैन । बाँसको झिक्राले बारेको टहरो मर्मत गर्न नसक्दा छानाको ठाउँठाउँमा दुलो परेको छ । घरमा नून, तेलसहित दैनिक उपभोगका सामान किन्न समस्या छ ।

छिमेकमा कहिलेसम्म मागेर खाने दुई दिन काम नगरे पेटमा माड पस्दैन् । उमेरले भीम माया ६० र उनका श्रीमान्ले ७० नेटो काटिसकेका तर पनि परिश्रम गर्ने आँट र हिम्मत भने कम छैन । यो उमेरमा पनि अहिले उनीहरु जङ्गलमा गएर पात टिपेर बेच्दै आएका छन् । “मुठाको ६० पर्ने सालका पात बिक्री नहुँदा कुनै दिन त भोकै बस्छौँ”, रुकबहादुरले भने । चाडपर्वका बेला त सोचे जस्तै कमाइ हुन्छ, पात पनि राम्रै बिक्री हुन्छ तर कहिलेकाहीँ दुःख गरेर ल्याएका पात पनि कुहिएर जान्छन् ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका कार्यालयबाट तीन÷चार किलोमिटरको दूरीमा बस्दै आएका यी दम्पतीको जिउने साहारा भनेकै सालको पात हो । रुकबहादुर भन्छन्, “बिहान बेलुका हातमुख जोर्न पनि ठेगान नभएका हामी कहिलेकाहीँ त खाना नपाएरै मर्छौं जस्तो लाग्छ ।” दिनभर जङ्गलबाट खोजेर ल्याएको पात बिक्री नहुँदा कहिले नून, भात त कहिले तातो पानी मात्रै पिएर सुत्ने गरेको उनी बताउँछन् । “कहिलेकाहीँ जङ्गल बन्द हुँदा आफ्नो गास नै खोसिए जस्तो लाग्छ”, भीममायाले भनिन् ।

फुर्सद हुँदा गाउँ घरमा मल बोक्न जाने गरेको उनी बताउँछिन् । शरीरमा तागत नहुँदा डोकोमा मल खेतबारीमा पुर्याउन पनि निक्कै गारो हुन्छ । बुढेसकालमा यी दम्पती नेपाली नागरिकताविहीन अवस्थामा छन् । यसका कारण पनि उनीहरु सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ । “घरमा पानी पसेर नागरिकता बगाएको छ÷सात वर्ष भयो अझैसम्म नागरिकता बनाइदिन्छौँ भन्दै कोही आएका छैनन्”, भीममायाले दुखेसो पोखिन् ।

नागरिकता बनाउनका लागि धेरैसँग हारगुहार गरे पनि नागरिकता अझै बनाउन नसकेको भीममायाले दुखेसो गर्छिन् । कहिलेकाहीँ श्रीमान् श्रीमती नै बिरामी हुँदा पानी र औषधि खुवाउने कोही हुँदैन । केही दिन पहिले घरकै आँगनमा चिप्लिएर श्रीमान्को हात भाँचिदा पात टिप्न जङ्गल जान नपाउँदा उपचार खर्चसमेत जोड्न समस्या रहेको उनी बताउँछिन् ।

वाणगङ्गा नगरपालिका–४ का वडाध्यक्ष गणेश क्षेत्रीले नागरिकताका लागि विगत एक वर्षबाट पहल भएको बताएका छन् । उनीहरुको अवस्था नाजुक भएको थाहा पाएबाटै वडाले सानोतिनो सहयोग गरिरहेको बताउँदै आगामी दिनमा उनीहरुका समस्यालाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए। रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments