प्यूठानका कृषकलाई धान भित्र्याउने चटारो

राजेश जिसी
प्यूठान। प्यूठानको ऐरावतीको बरौला फाँटमा धान पाकेर फाँट पहेंलपुर देखिन थालेको छ ।

चैत महिनामा लगाएको धान साउनमा पाकेपछि प्यूठानका किसानहरु बर्खे धान रोप्न छोडेर पहेंलपुर भएको धान भित्र्याउन व्यस्त देखिन्छन् ।

विगतका वर्षमा चैतमा धान रोप्ने र असारमा भित्र्याउने गरेपनि यस वर्ष धान पाक्न ढिला भएकाले किसानलाई धान भित्र्याउन भ्याइ–नभ्याइ छ ।

खेतमा धान झुलेर पहेंलपुर भएपछि ऐरावती क्षेत्रका ४०० किसानलाई धान भित्र्याउने चटारो छ ।

बर्खे धान रोप्नेहरु रोप्दैछन् । उनीहरुलाई रोपाईंसँगै धान भित्र्याउने हतारो छ । केही किसानहरु भने रोपाईंलाई थाती राखेर धान भित्र्याउने चटारोमा छन् ।

बरौला, बिजुली, गोठिङ, टिकुरी, लादम आसपासका किसानलाई यतिखेर धान काट्न र झाट्न भ्याइ–नभ्याइ छ । चैतेधान थन्क्याएर रोपोईंमा होमिने किसानलाई हतारो छ ।

किसानहरु चैत महिनामै धान रोप्ने र असारमा भित्र्याउने गर्छन् । तर, यस वर्ष वर्षात् धेरै भएकाले धान पाक्न ढिलो भएको छ । प्यूठानमा बर्खे धानको तुलनामा चैते धानको उत्पादन धेरै हुने गरेको छ ।

किसानले गत वर्ष ज्यालादारीका मजदुर प्रयोग गरेका थिए भने यस वर्ष कोरोनाका कारण घरमै काम गर्ने मान्छे भएपछि खेताला लगाउनुपरेको छैन ।

छोटो समयमा पाक्ने र उत्पादन पनि बर्खे धानकोभन्दा राम्रो हुने गरेको किसानहरुको भनाइ छ ।

जिल्लाको कुल ४२ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये छ हजार ५५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये १०० हेक्टर जमिनमा चैते धान रोपिन्छ ।

गत वर्ष प्रतिहेक्टर ३.८७ मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष बढेर प्रतिहेक्टर चार मेट्रिकटन पुगेको छ ।

चैतमा रोपिएको धानले बर्खे धानको तुलनामा उत्पादन राम्रो दिने भएपनि सिँचाइ र जनशक्ति अभावका कारण कम धान रोप्ने गरिएको छ ।

प्रशस्त धान फल्ने क्षेत्रमा सिँचाइको व्यवस्था पुर्‍याउन सके प्यूठान खाद्यान्नमा आत्मनिर्भर हुने त छँदैछ, जिल्लाबाट बाहिर निर्यात गर्नपनि सकिने थियो ।
इमेजखबर

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments