१८० बिघा क्षेत्रमा फलफूलका बिरुवा रोपेर नगर बगैँचा निर्माण शुरु

सर्लाही । जिल्लाको वाग्मती नगरपालिकामा नगर बगैँचा निर्माण हुने भएको छ । नगरपालिका–३, ४ र ११ मा गरेर १८० बिघा क्षेत्रमा नगरपालिकाले फलफूलका बिरुवा रोपेर नगर बगैँचा निर्माण शुरु गरेको छ ।

नगरको आयआर्जनका रूपमा विकास गर्नसके यस नगर बगैँचाले बेरोजगार सयौँ नागरिकलाई रोजगारी सिर्जना गर्ने नगरप्रमुख भरतकुमार थापाले बताए । विकासलाई रोजगारमुखी बनाउनु अपरिहार्य रहेको भन्दै विकाससँगै रोजगारीको सिर्जना पनि गर्ने काममा वाग्मती नगरपालिका लागिपरेको उनले बताए ।

बगैँचाका कारण नगरले यहीँ उत्पादन हुने फलफूलका लागि अन्यत्र निर्भर हुन नपर्ने उनको भनाइ छ । नगरले वार्षिक करोडौँको फलफूल उत्पादन गर्ने गरी बगैँचा निर्माण गरिरहेको छ । यसरी कृषि, पशु, बजारलगायतको व्यवस्थापनमा समेत नगरले मुख्यरूपमा ध्यान दिइरहेको उपप्रमुख लीला मोक्तानले बताए । नगरको विकासका लागि नगरको रकम कुनै पनि हालतमा नगरमै रोक्नुपर्ने भएकाले पनि यो योजना अपरिहार्य रहेको जनप्रतिनिधिको भनाइ छ । आजलाई भन्दा पनि भोलिको भविष्यलाई हेरेर नगरपालिकाले योजना तयार गर्ने गरेको नगरका योजना विभाग प्रमुख सुजन बडालले बताए ।

बगैँचामा तराईको ठाउँमा हुने आँप, लिची, कटहरलगायतका फलफूलका बिरुवा लगाइएको छ । बगैँचाको रेखदेख तथा गोडमेलका लागि स्थानीयस्तरमा रोजगारी पनि सिर्जना भएपछि स्थानीयवासीसमेत हर्षित बनेका छन् । बगैँचा निर्माणले नगरको पर्यावरणसमेत सन्तुलित रहने नगरको जिकिर छ । एकातर्फ वातावरण संरक्षण र अर्कोतर्फ आम्दनीको राम्रो स्रोत नगर बगैँचा बन्ने नगरपालिकाले जनाएको छ । नगर बगैँचामा फलफूलका बिरुवाहरु रोप्ने काम भइरहेको र ती बिरुवाको व्यवस्थापनको काम भइरहेको नगरपालिकाले जनाएको छ । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments