जुम्ली मार्सी धानमा ब्राउन स्टोप रोगको प्रकोप

खलङ्गा: जुम्ली मार्सी धानबालीमा ब्राउन स्टोप रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । यस वर्ष अनुकूल मौसम परेकाले समयमै मार्सी धान रोप्न पाएपछि हर्षित बनेका किसान रोग देखिन थालेपछि चिन्तित बनेका हुन् । कृषि विज्ञसहितको टोलीले तातोपानी गाउँपालिका–४ र ५ मा मार्सीधान रोपेका खेतमा गरिएको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो ।

टोलीले यहाँको तातोपानी गाउँपालिकाका –४ र ५ वडाका मार्सी धान रोपेका खेतमा गरेको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो । तातोपानी गाउँपालिकाका कृषि संयोजक धर्मराज आर्चायका अनुसार अनुगमनका क्रममा फाटफुट रुपमा व्लाष्ट रोग देखिएको छ भने मार्सी धानमा ब्राउन स्पोट रोग अलि बढी देखिएको बताउनुभयो । पर्याप्त सिँचाइ र नाइट्रोजनको अभावले मार्सी धानमा ब्राउन स्पोट रोग लाग्ने गरेपनि यो रोगका कारण मार्सी धानको उत्पादनमा भने कुनै गिरावट नआउने उहाँको भनाइ छ ।

मार्सी धान भित्रियाउने समयसम्म असिना नपरेको खण्डमा ब्राउन रोगले उत्पादन नघट्ने गाउँपालिकाका कृषि शाखाले जनाएको छ । ब्राउन रोगका कारण उत्पादन नघटेपनि साउनमा भएको वर्षाका कारण केही स्थानमा उत्पादन घट्ने चिन्तामा किसान छन् । खेतभरी बालुवा भरिएपछि मार्सीखेत बगरमा परिणत भएका थिए । धान फल्ने बेला बालुवाले खेत भरिँदा उत्पादन सोचे जस्तो नहुने तातोपानीका –४ का किसान प्रेमराज पाण्डेले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण स्थानीय बालीमा लाग्ने रोग किरा व्यवस्थापन तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ लिबर्ड जुम्लाले हरेक वर्ष स्थानीय धानबाली र सिमी बालीको अनुसन्धान गर्दै आएको छ । जुम्लामा बिगत एक वर्षदेखि स्थानीय बाली धान र सिमीको संरक्षण गरी विभिन्न ठाउँमा ‘बीउ बैंक’को रूपमा काम गर्दै आएको छ । वर्षेनि मार्सी धानमा विभिन्न खाले रोग किरा लाग्ने गरेका छन् । तर वर्षैपिच्छे हुने अध्ययन अनुसन्धानले मार्सी धानमा लाग्ने रोग किरा नियन्त्रणको दिगो समाधान भने अझै हुन सकेको छैन ।

गत वर्ष मार्सी संरक्षणका लागि स्वदेशी तथा विदेशी विज्ञको टोलीले मार्सीको अनुगमान तथा अनुसन्धान गरेको थियो । यतिबेला जिल्लाका मार्सी धान उत्पादन हुने खेतमा धानको बाला झुलिसकेको छ ।- रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments