बङ्गुरका पाठापाठी बेचेर वार्षिक ७ लाख आम्दानी

चाँदनी आचार्य

लम्की (कैलाली) : पुँजी नभए पनि व्यवसाय सञ्चालन गरेर सफलता पाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, कैलालीको बर्दगोरिया गाउँपालिका–२, दोघरा गाउँका चुन्नु कठरिया । नौ वर्ष पहिले पुँजीको अभावमा एउटा बङ्गुर पालेर व्यवसाय सुरु गर्दा व्यवसाय विस्तार हुँदै अहिले वार्षिक सात लाख रुपियाँ आम्दानी गर्न थाल्नुभएको हो ।

एउटाबाट बढ्दै ११ वटा बङ्गुर पुगेपछि व्यवस्थित खोर बनाएर व्यवसाय बढाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा धेरै बङ्गुर पाल्न पुँजी थिएन । एउटाबाट बगाल बढाउँदै अहिले त माउ नै ३८ वटा पुगेका छन् । ” अहिले तिनै माउबाट जन्मेका पाठापाठीले राम्रो आम्दानी दिन थालेका हुन् । चार वर्षदेखि बच्चा उत्पादन गरेर बेच्न थालेको छु, उहाँले भन्नुभयो, “खर्च कटाएर अहिले वर्षमा सात लाख आम्दानी गर्दै आएको छु । ”

आठ कक्षासम्म पढेका चुन्नुले बङ्गुरपालन व्यवसायप्रति आफू सन्तुष्ट रहेको बताउनुभयो । थारू समुदायमा एक÷दुईवटा घरकै प्रयोजनका लागि पालिने बङ्गुरलाई व्यवसायमा ढालेका उहाँले अन्य पशुपालनभन्दा बङ्गुरपालनमा फाइदा बढी भएको अनुभव सुनाउनुभयोे । उहाँले एउटा बङ्गुरको पाठालाई पाँच हजार रुपियाँसम्ममा बेच्ने गरेको बताउनुभयो ।

वर्षमा दुईपटक बच्चा उत्पादन गर्ने बङ्गुरले एकपटकमा आठदेखि १६ वटासम्म बच्चा दिने गर्दछ । लिम्बोस र दिउरोक जातका बङ्गुरपालन गर्नुभएका चुन्नुले व्यवसायबाट भएको आम्दानी व्यवसायमा नै लगाउनुभएको छ ।बङ्गुरपालन सँगै दुई वर्षदेखि चुन्नुले केरा खेतीसमेत गर्नुभएको छ । बङ्गुरपालनबाट आएको आम्दानीलाई व्यवसायी केरा खेतीमा लगानी गरेको उहाँले बताउनुभयो । चुन्नुले भन्नुभयो, “व्यवसायबाट आएको आम्दानीलाई व्यवसाय बढाउनमा नै लगानी गरेको छु । चार बिघा जग्गा ठेक्कामा लिएर सात लाख रुपियाँको लगानीमा केरा खेती सुरु गरेको छु । एकपटक उत्पादन भइसक्यो राम्रै आम्दानी हँुदो रहेछ । ”

वार्षिक एक लाख ६० हजार रुपियाँमा जग्गा ठेक्कामा लिएर केराको व्यावसायिक खेती गरेका चुन्नुको परिवारका सदस्यले काम पाउनुका साथै अन्य दुई जनासमेत रोजगार भएका छन् । बङ्गुर खोरमा काम गर्ने एक जना र केरा खेतमा काम गर्ने एक जना बाहिरको मान्छे राखेको छु । परिवारका सबै मिलेर सहयोग गर्छौं, २९ वर्षीय चुन्नुले भन्नुभयो ।

आफूले गर्दै आएको व्यवसायलाई अझ ठूलो बनाउने उद्देश्यले प्रदेश सरकार र स्थानीय सरकारलाई अनुदान सहयोगका लागि आग्रह गर्दै प्रस्ताव पेस गरे पनि कतैबाट सहयोग नपाएको चुन्नुले बताउनुभयो । उहाँले सरकारले दिने अनुदान आसेपासे अरूको फार्म देखाएर कागजी प्रक्रिया मिलाएर अनुदान पचाउनेका लागि नभई आफूजस्ता वास्तविक पशुपालन, कृषि, व्यवसाय गर्नेका लागि हुनुपर्ने माग गर्नुभयो । गोरखापत्र

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments