घैया धान खेती लोप हुँदै : अनुकूल वातावरण मुख्य कारण

गलेश्वर : अनुकूल वातावरणको अभाव भएपछि म्याग्दीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडेका छन् । सिँचाइको सुविधा नपुगेका भिरालो पाखामा खेती गर्न सकिने घैया धान कृषकले लगाउन छाडेपछि लोप हुने अवस्थामा पुगेको हो । अनुकूल वातावरणको अभावमा कृषकले सो जातको धानखेती गर्न छाडेको जिल्लाको वातावरण तथा जैविक क्षेत्रको अध्ययनमा सक्रिय रहँदै आउनुभएका चन्द्रमणि सापकोटाले बताउनुभयो ।

विशेषगरी मकैबालीभित्र वैशाख/जेठमा घैया धान छर्ने र त्यसैबाट वर्षदिनको धान उत्पादन गरी जीविका चलाउने यहाँका कृषकले घैया धान लगाउनै छाडेपछि अहिले जिल्लाबाटै हराउँदै गएको छ । जिल्लाको गुर्जा, मुना, लुलाङ, मुदी, मराङ, कुईने, पाखापानी, दाना, चिमखोलालगायत क्षेत्रमा घैया धानखेती हुन छाडेको हो ।

पहिले घैया धानखेती हुने उच्च पहाडी क्षेत्रका सयाँै रोपनी खेतबारी अहिले बाँझै भएको दानाका कृषक बेलबहादुर पुर्जाले बताउनुभयो । “विगत तीन वर्षयता घैया धान उत्पादन नै हुन छाडेको छ”, उहाँले भन्नुभयो, “कसैले कोदो त कसैले मकैखेती गरेका छन् भने अधिकांश जमिन गौचरनमा परिणत भएको छ ।”

कृषि प्राविधिकहरूका अनुसार समयमै वर्षा नहुने र बढ्दो तापक्रमका कारण अनुकूल वातावरणको अभावमा स्थानीय जातका खेतीबाली उत्पादनमा असर परेको हो । घैया धान वैशाख जेठमा रोपेर कात्तिक, मङ्सिरमा भित्र््याउने गरिन्छ ।

पौष्टिक तत्वको मात्रा अधिक हुने घैया धानलाई स्थानीयवासीले औषधिको रूपमा पनि प्रयोग गर्छन् । घैया धानको चामल खाँदा बास्ना आउने र स्वादिलो हुने भए पनि गाउँघरबाट लोप हुँदै गएपछि पछिल्लो पुस्ता यस खेतीप्रति अनभिज्ञ छन् । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments