पदयात्रा र घरबासमार्फत पर्यटक तान्दै उल्लेरी गाउँ : खाजामा मकै, भट्ट प्राङ्गारिक परिकार

गण्डकी: पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ हो उल्लेरी । पोखरा महानगरपालिका–२२ स्थित यो गाउँ प्रकृति र संस्कृतिले सम्पन्न छ । बाहुन, क्षेत्री, गुरुङ, दलित आदि जातजाति मिलेर बसेको यो गाउँबाट देखिने मनमोहक हिमश्रृङ्खला तथा पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ ।

सम्भावना भएर पनि गाउँ पछि परेको अवस्थालाई दृष्टिगत गर्दै पछिल्लो दुई दशकयता यहाँका स्थानीयले पूर्वाधार विकाससँगै पर्यटकमैत्री संरचना निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाएका छन् । गाउँमा विभिन्न सांस्कृतिक कार्यक्रम एवं सभासम्मेलन गर्नका लागि लगभग २० वर्ष अघि समाज घर स्थापना गर्दै यहाँका स्थानीयले सांस्कृतिक गतिविधिलाई पनि अघि बढाउँदै आएका छन् ।

पोखरा नजिकको राम्रै पर्यटकीय गन्तव्यका रुपमा गाउँको विकास गर्न सकिने अवस्थालाई दृष्टिगत गरी गत वर्षदेखि यहाँका चार वटा घरमा घरबास सञ्चालन गरिएको उल्लेरी सामुदायिक होमस्टेका सचिव दुर्गाबहादुर गुरुङले जानकारी दिए।

होमस्टेमा आउने पर्यटकका लागि स्थानीय प्राङ्गारिक उत्पादनका परिकार खुवाउने गरिएको उनले बताए । घरबासमा आउने पर्यटकलाई बेलुका आउनासाथ मकै, भट्ट आदिको खाजाका साथै बेलुकाको खाना र विहान नास्ता गरी प्रतिव्यक्ति प्याकेजमा रु एक हजार लिने गरिएको उनले बताए । यहाँ आउने पर्यटकले गाउँमाथि रहेको थाप्लोमा पुगी टाढाटाढासम्मको हिमाल तथा पहाडी विभिन्न दृश्य एकसाथ अवलोकन गर्न पाउने अर्का स्थानीयवासी जीतबहादुर गुरुङले बताए ।

समुद्री सतहदेखि करिब दुई हजार ५६ मिटर उचाइमा रहेको यस ठाउँलाई थाप्ले टाइगर हिलका रुपमा लिँदै यसको प्रवद्र्धन र विकासमा स्थानीयवासीले सक्रियता देखाएको स्थानीय समाजसेवी मीनप्रसाद लामिछानेले बताए। थाप्ले स्थानीयको धार्मिक आस्था र विश्वासयुक्त तीर्थस्थल हो । जनविश्वास अनुसार यहाँ एक जना सिद्ध बाबाले कुटी स्थापना गरी तपस्याका माध्यमबाट ज्ञान प्राप्त गरेका थिए । यहाँ बुद्ध जयन्तीका दिन विशेष पूजाआजा गरिन्छ । मनोकांक्षा पूरा हुने विश्वासका कारण यहाँ पुग्ने सर्वसाधारणले घण्टी र ध्वजा चढाउने गर्दछन् ।

थाप्लेबाट पोखरा मात्र नभै लमजुङ, गोरखा, पाल्पालगायत स्थान एक साथ अवलोकन गर्न सकिन्छ । धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्करलगायतका हिमाली दृश्यका साथै पञ्चासेको लेक र पाल्पासम्मका दृश्यले जो कोहीलाई लोभ्याउने गरेको थाप्ले टाइगर हिलका अध्यक्ष मानसिंह गुरुङले बताए ।

थाप्लेमा कास्की र स्याङ्जाका उल्लेरी, गलेम, ढाबा, भुम्दी र मकवानपुर आदि स्थानका सर्वसाधारण श्रद्धा र विश्वासका साथ पूजाआजा गर्न आउँछन् । यो ठाउँ प्याराग्लाइडिङको साथै उल्लेरी–भुम्दी–गलेम टोर्के हुँदै पदयात्रा एवं हाइकिङको पनि उत्तिकै सम्भावनायुक्त छ ।

पछिल्ला दिनमा यहाँको प्रचारप्रसारका साथै पूर्वाधार विकासका कामलाई तीव्रताका साथ अघि बढाइएको होमस्टेका सचिव गुरुङले जानकारी दिए। उनका अनुसार थाप्लेमा मन्दिर वरपर ४०० मिटरको पर्खाल निर्माण गरिएको छ भने दुई वटा पोखरी बनाइएको छ । उल्लेरीदेखि थाप्लेसम्म पुग्नका लागि प्रदेश सरकारको रु २० लाख सहयोगमा ढुङ्गाको सिँढी निर्माण गरिएको छ ।

प्रदेश सरकारकै सहयोगमा कुभिण्डेबाट उल्लेरीसम्म रु पाँच लाखको लागतमा सिँढीबाटो निर्माण भैसकेको उनले जानकारी दिए । युवाको खेलप्रतिको आकर्षणलाई दृष्टिगत गरी गुरुङकै संयोजकत्वमा रु १२ लाख २५ हजार सहयोग सङ्कलन गरी हालै बहुउद्देश्यीय बास्केटबल कोर्ट निर्माण गरिएको छ ।

थाप्लेमा पोखरा महानगरपालिकाको सहयोगमा रु १२ लाखको लागतमा शौचालयका साथै भ्युटावर निर्माण गर्न लागिएको गुरुङले बताए । कुभिण्डेबाट उल्लेरी हुँदै थाप्ले र पञ्चासेसम्मको पदयात्रालाई पनि सँगसँगै अघि बढाउने सम्भावना रहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले बताए । “हामी उल्लेरीको घरवास सँगै यहाँको पदयात्रा पर्यटनलाई पनि सँगसँगै जोड्दै छौँ”, उनले भने, “पदयात्रा पर्यटनसँगै जाने पर्यटकलाई खान बस्नका लागि घरवबासलाई व्यवस्थित गर्दै जानु आवश्यक छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments