अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै , निर्यात दोब्बर

मुलुकमै उत्पादन हुने वस्तुमध्ये पहिलो नम्बरमा रहेको अलैंचीको निर्यात दोब्बर भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै गएपछि निर्यातमा दोब्बरले वृद्धि भएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार, चालू आर्थिक वर्षको ११ महिनामा निर्यातमा ९३.७ प्रतिशतले बढेर ६ अर्ब ७० करोड ३७ लाख ८० हजार रुपैयाँको ८४ लाख ४८ हजार ९ सय ३७ किलो निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा तीन अर्ब ४६ करोड १० लाख ४२ हजार रुपैयाँ बराबरको ४३ लाख ९ हजार ५०३ केजी निर्यात भएको विभागको तथ्यांक छ ।

मुलुकमा उत्पादित अलैंची भारतसहित, पाकिस्तान, दुबई तथा युरोपेली मुलुकमा निर्यात हुँदै आएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, गोरखासहित अन्य जिल्लामा यसको व्यावसायिक खेती भइरहेको छ । नेपालमा १५ हजार चार सय हेक्टर जमिनमा यसको खेती हुने गरेको छ । व्यवसायीका अनुसार, मुलुकमा वार्षिक पाँच हजार टन अलैंची उत्पादन हुने गर्छ । व्यापार विज्ञ पुरुषोतम ओझा स्वदेशी वस्तुको निर्यात बढ्नु सकारात्मक भएको बताए । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसकेकाले निर्यात बढाउनका लागि उत्पादनमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ ।

यस्तै ११ महिनाको अवधिमा चिया निर्यातमा उलेख्य वृद्धि भएको छ । विभागका अनुसार ११ महिनाको अवधिमा चिया निर्यातमा ७१.२ प्रतिशतले बढेर तीन अर्ब ५३ करोड ६८ लाख ५७ हजार रुपैयाँको एक करोड १० लाख ३६ हजार ४८६ किलो निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब ६५ करोड ३६ लाख आठ हजार रुपैयाँ बराबरको ८३ लाख २५ हजार ७८७ किलो निर्यात भएको छ ।

यस्तै वुलन तथा फेल्टका सामान निर्यातमा ९२ प्रतिशतले बढेर तीन अर्ब ५६ करोड ९ लाख १६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । गत वर्ष सोही अवधिमा एक अर्ब ८५ करोड ४९ लाख ३४ हजार रुपैयाँको निर्यात भएको छ । यस्तै ११ महिनाको अवधिमा चाउचाउ र पास्ताको निर्यातको ६७ प्रतिशतले एक अर्ब ५६ करोड ९२ लाख ३२ हजार रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ९३ करोड ४५ लाख ५५ हजार रुपैयाँको निर्यात भएको थियो ।

यस्तै ऊनी गलैंचाको निर्यातमा १७.५ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड पुगेको छ । तयारी पोशाकको निर्यातमा ५.९ प्रतिशतले बढेर ४ अर्ब ८१ करोडको निर्यात भएको विभागको तथ्यांक छ । ११ महिनामा सबैभन्दा धेरै निर्यात भटमासको तेल भएको छ । भटमासको तेलको निर्यातमा ३१८ प्रतिशतले बढेर ४२ अर्ब ३४ करोड ७३ लाख ९९ हजार रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ । भटमासको कच्चा पदार्थ आयात गरेर नेपालमा आएर प्रशोधन गरेर पुनः निर्यात भएको हो । ११ महिनामा ४५ अर्ब ५९ करोड ९४ लाख ३० हजार रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएको थियो । चालू आर्थिक वर्षको ११ महिनामा निर्यातमा ३७.८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments