व्यावसायिक केराखेतीमा डढुवा र गबारोको प्रकोप

गलेश्वर : यहाँ व्यावसायिकरूपमा लगाइएको केराखेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला र मालिकाका विभिन्न स्थानमा गरिएको केराखेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो ।

व्यावसायिकरूपमा गरिएको केराखेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट क्षेत्र मानिने खबरा गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाइएका केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका कृषकका केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित बनाएको हो ।

करिब १५ रोपनीको जग्गामा व्यावसायिक केराखेती गर्नुभएका खबराका कृषक राजकुमार घिमिरेले व्यावसायिक केराखेतीमा रोग र किराको प्रकोप देखिएपछि समस्या भएको गुनासो गर्नुभयो । उहाँले डढुवा, गबारो, खपटे घुनको प्रकोपबाट पसाएका केरामा दाग देखिने, केराका बोट सुक्दै जाने, पहेँलो हुने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा नै सङ्कटमा पर्न थालेको बताउनुभयो । खबराका सिङ्गो गाउँका कृषक नै केराखेतीमा संलग्न छन् । सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पु¥याएको उहाँले जानकारी दिनुभयो ।

कूल २२० घरधुरी रहेको खबराका अधिकांश कृषक व्यावसायिक केराखेतीमा संलग्न छन् । वर्षेनी केराखेतीतर्फ खबराका कृषकको आकर्षण बढ्दै जान थालेको छ । यस वर्ष कोरोना भाइरसका कारण जारी लकडाउन र सलह जातको किराले दुःख दिएको अवस्थामा केराखेतीमा फेरि रोगको प्रकोप देखिएपछि कृषक थप चिन्तित बनेका हुन् । खबरामा हजारिया जातको केराको उत्पादन अत्यधिक हुन्छ । यसका साथै नङ्ग्रे, मालुङ्गे, धुर्सेजस्ता केराको उत्पादन हुने गरेको कृषक बताउँछन् ।

खबरामा व्यावसायिक केराखेतीसँगै किबी, अम्बा, कटहर, कागतीलगायत फलफूलको उत्पादन हुँदै आएको छ । यस वर्ष केराखेतीमा रोगको प्रकोप देखिएकाले कृषक समस्यामा परेको खबराका अर्का कृषक भूमिराज घिमिरेले बताउनुभयो । यहाँका कृषकले व्यावसायिकरूपमा केरा तथा फलफूल खेती गरेका कृषकलाई वडा, नगरपालिका र सम्बन्धित निकायले आवश्यक सहयोग गर्नुपर्ने माग गरेका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments