उखुको समर्थन मूल्यसम्बन्धी प्रस्ताव तयार

काठमाडौँ: उखुको न्यूनतम समर्थन मूल्य तोक्नेसम्बन्धी प्रस्ताव तयार भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत उखुको न्यूनतम समर्थन मूल्य मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

कृषि मन्त्रालयले उखु किसान, चिनी उद्योगीलगायत अन्य सरोकारवालासँग छलफल गरेर उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको कृषिमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो । “उखुको मूल्य निर्धारण गरेर उद्योग मन्त्रालयमा पठाएका छौँ । उद्योग मन्त्रालयले जति छिटो मन्त्रिपरिषद्मा लैजान्छ त्यति छिटो मूल्य निर्धारण हुन्छ,” उहाँले भन्नुभयो ।

मन्त्री यादवले सिफारिस गरिएको मूल्यबारे बताउन चाहनुभएन । कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले भने किसानले प्रतिक्विन्टल ६५० रुपियाँ प्रस्ताव गरेकाले त्यसैको वरिपरि मूल्य निर्धारण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “उखु किसानलाई धेरै मूल्य चाहिने, उद्योगीलाई कम मूल्य चाहिने । यी दुईको कुरा मिलाउँदा मिलाउँदै ढिलो भएको हो । हामीले मन्त्रालयलाई पठाइसकेका छौँ, चाँडै मूल्य निर्धारण हुन्छ । ”

कृषि मन्त्रालयमा पटकपटक भएको छलफलमा चिनी उद्योगीले सरकारको अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल ५८५ रुपियाँ राख्नुपर्ने प्रस्ताव गरेका छन् भने किसानले ६८० रुपियाँ हुनुपर्ने माग प्रस्तुत गरेका छन् । दुवै पक्षले गरेको प्रस्तावका आधारमा अध्ययन गरी एउटा मूल्य तोकेर उद्योग मन्त्रालयमा पठाएको मन्त्री यादवले बताउनुभयो । यो छलफलअघि कृषि मन्त्रालयले ५६५ रुपियाँ दिनेगरी प्रस्ताव तयार गरेको भए पनि किसानले विरोध गरेका थिए ।

उखु उत्पादन महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखु क्रसिङ गर्ने बेला भइसक्यो तर अहिलेसम्म सरकारले मूल्य निर्धारण नभएको कारण किसान मर्कामा परेको बताउनुभयो । पुस ६ गते मन्त्री यादवले आफूहरूसँग छलफल गर्दा उखुको मूल्य प्रतिक्विन्टल ६८५ हुनुपर्ने भनेको, त्यसपछि उहाँले केही जवाफ नदिएपछि आफूहरू फर्केर आएको उहाँले बताउनुभयो ।

अहिले उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपियाँ ३३ पैसा रहेको छ । गत वर्ष उखुको न्यूनतम लागत ३८६ रुपियाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपियाँ ८९ पैसासहित कुल ४७९ रुपियाँ दुई पैसा तोकिएको थियो । त्यसमा सरकारले प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान दिने गरेको छ । -गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments