मुस्ताङमा च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र

लोमान्थाङ :मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा पश्मिना बनाउने कच्चा पदार्थ च्याङग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरिएको छ । केन्द्रमा तीन हजार किलो भुवा भण्डारणसमेत गर्न सकिनेछ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना (एनएलएसआइपी) र नेपाल फाइवर प्रोसेसिङ उद्योग प्रालिको ५०÷५० प्रतिशत लागत साझेदारीमा च्याङ्ग्राको शरीरमा उत्पादन हुने भुवा सङ्कलन गर्न भवन निर्माण भएको हो । कूल रु ३२ लाखमा निर्माण भएको तीन हजार किलोग्राम भुवा भण्डारण गर्न सकिने तामक्रमलाई सन्तुलित बनाउने तीन कोठे प्रिफेक प्रविधिको भवनको आज गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ ।

कृषकले च्याङ्ग्राको शरीरबाट निकाल्ने भुवालाई सुरक्षित भण्डारण गरेर उद्योगसम्म पु¥याउने उद्देश्यले सङ्कलन केन्द्र निर्माण गरिएको कम्पनीका अध्यक्ष धनप्रसाद लामिछानेले बताउनुभयो ।

“मङ्गोलिया र चीनबाट ल्याइने भुवाको विकल्पमा नेपालकै भुवाबाट पस्मिना बनाउन काठमाडौँमा प्रशोधन उद्योग स्थापनाको तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “कृषकले उत्पादन गरेको भुवाको खरिद गर्न सङ्कलन केन्द्र बनाएका हौँ ।”

यसअघि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङमा अस्थायी सङ्कलन केन्द्र स्थापना गरेर डोल्पाको गरी करिब रु एक करोड ५० लाख मूल्य बराबरको तीन हजार ५०० किलोग्राम भुवा खरिद गरिसकेको कम्पनीले जनाएको छ । कम्पनीका सञ्चालक तथा कार्यक्रम संयोजक भीमप्रसाद शेरचनले स्थानीय तहसँग समन्वय गरेर च्याङ्ग्रा तथा पश्मिना कृषक सङ्घ गठन गर्दै भुवा निकाल्ने आधुनिक काइयो वितरण र सीप सिकाउन ताजिकिस्तानबाट प्रशिक्षक ल्याएर कृषकहरुलाई तालिम दिइएको जानकारी दिनुभयो ।

कृषक छिरिङ वाङदी गुरुङ र आङगेल गुरुङले प्रबिधि, सीप र बजार अभावमा च्याङग्राको शरिरबाट जंगलमा झरेर खेर गइरहेको भुवा सङ्कलन गरी कृषकहरुले लाभ लिने वातावरण बनेको बताउनुभयो । मुस्ताङ च्याङ्ग्रा तथा पश्मिना कृषक सङ्घका अध्यक्ष करन गुरुङले सीप, प्रविधि र बजार पाएपछि कृषकले भुवा सङ्कलन गर्न थालेका सुनाउनुभयो ।

सङ्कलन केन्द्रको भवन उद्घाटन गर्दै प्रदेश सांसद विष्टले स्वादिष्ट मासुका लागि प्रसिद्ध मुस्ताङको च्याङ्ग्राको भुवाबाट कृषकलाई अतिरिक्त लाभ हुने बताउनुभयो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फाल विष्टले च्याङ्ग्राको सङ्ख्या बढाउन कृषकलाई ब्यवसायिक च्याङ्ग्रा पालनप्रति प्रोत्साहन गरिने बताउनुभयो । नेपाल लाइभस्टक सेक्टर परियोजनाका पशु चिकित्सक डा प्रकाश अधिकारीले मासु र पश्मिनासम्बन्धी कार्यक्रमका लागि परियोजनाले रु २० करोड लगानी गरेको बताउनुभयो ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख बस्तु पश्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गरेर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पश्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पश्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चा पदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको सङ्घका उपाध्यक्षसमेत रहेका लामिछानेले बताउनुभयो ।

६५ हजार च्याङ्ग्रा पालिएको मुस्ताङको मात्र भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत भुवाको धागो आयात घटाउन सकिने सङ्घले जनाएको छ । वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । मासुका लागि प्रसिद्ध हिमाली च्याङ्ग्राको छाला र मल पनि बिक्री हुन्छ ।

मुस्ताङमा च्याङ्ग्रापालन र भुवा सङ्कलनलाई आधुनिक र व्यवस्थित बनाएर गुणस्तर बढाउन जोड दिइएको विश्व व्यापार सङ्गठनका परामर्शदाता सिचन श्रेष्ठले बताउनुभयो । यहाँका कृषकलाई च्याङ्ग्राको भुवा निकाल्ने करिब एक हजार आधुनिक काइयो वितरण गरिएको छ ।
(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments