ढिलो पाक्ने खेतीको उत्पादन घट्दै

चितवन: एउटै मौसममा धेरै खेती उत्पादन गर्न यहाँका किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन् । कृषकहरू छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने खेतीको उत्पादन र क्षेत्रफल घट्दै गएको छ ।

कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार यस वर्ष गहुँखेती गरिएको क्षेत्रफल चार हजार पाँच सय ४५ दशमलव नौ हेक्टर रहेको छ । गत वर्ष पाँच हजार ५१ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा यस वर्ष सो क्षेत्रफल घटेको हो ।

आर्थिक वर्ष २०७७÷७८ मा पाँच हजार एक सय ५१ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको थियो । गत आर्थिक वर्षमा जिल्लामा २२ हजार एक सय ४८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने उत्पादकत्व चार दशमलव तीन रहेको थियो । आर्थिक वर्ष २०७७÷७८ मा २३ हजार दुई सय ४८ मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

छोटो समयमा उत्पादन लिने बालीतर्फ कृषक आकर्षित हुँदा गहुँखेती गर्ने क्षेत्रफल घट्दै गएको हो । धान काटेसँगै गहुँ लगाउने कृषकले चैतसम्म एउटै बालीका लागि कुर्नुपर्ने भएकाले यस खेतीतर्फको आकर्षण घटेको कार्यालयका सूचना अधिकारी मीनबहादुर पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार गहुँखेती हुने ठाउँमा अहिले कृषकले तोरी, तरकारीलगायतका खेती गर्न थालेका छन् ।

तोरी लगाउँदा चाँडो पाक्ने र राम्रो नाफा हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको उहाँले बताउनुभयो । गहुँ लगाउँदा तरकारी र मकैका लागि समय ढिला हुने भएकाले कृषकले अन्य बाली रोज्न थालेका हुन् ।

विगत तीन वर्षको तथ्याङ्कलाई हेर्दा गहुँखेतीमा भन्दा तोरीखेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । आव २०७७÷७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा आव २०७८÷७९ मा १३ हजार दुई सय ७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । यस आवमा यो क्षेत्रफल बढेर १४ हजार पाँच सय ७९ हेक्टर पुगेको उहाँले बताउनुभयो । तेलको माग बढ्नु र तोरीको मूल्यमा भएको वृद्धिले समेत यसतर्फ कृषक आकर्षित भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष तोरीका लागि राम्रो मौसम भएकाले उत्पादन पनि बढ्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments