भ्रष्टाचारलाई  घृणा गर्नुहोस् : केपी ओली

२५ पुष, झपा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढीमा रहेकाे शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आज आइतवार उद्घाटन गर्दै उहाँले यस्ताे आग्रह गर्नुभएको हो । ‘’देशको गरिमा उच्च पार्न र देशलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ, उहाँले भन्नुभयो, ‘भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्ने गरी काम गर्नुहोस् ।’

अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘काम गर्ने बेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्छ, कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र हो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी सङ्कट मोचनमा अग्रसर भएको बताउनुभयो । उहाँले कर्मचारीको हकहितका लागि लोकतान्त्रिक मान्यतालाई संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले चुनावमा निष्पक्ष रूपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रहसमेत गर्नुभयो । नेपाल निजामती कर्मचारी सङ्गठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अगुवाइमा भवन निर्माण भएको भवन निर्माण समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईंले बताउनुभयो ।

दुई तले भवनको कुल लागत एक करोड ८८ लाख नौ हजार पाँच सय ७० रुपैयाँ रहेको छ । भवनको शिलान्यास एमाले अध्यक्ष ओलीले नै २०७० माघ ५ गते गर्नुभएको थियो । रासस

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments