पदमार्ग निर्माणले नारच्याङ झरना पुग्न सहज

म्याग्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित नारच्याङ झरना जोड्ने पदमार्ग निर्माण भएको छ । नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो ।   
   
झरना अवलोकन गर्न आउने पर्यटकको सहजरुपमा आवतजावतका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा पदमार्ग निर्माण गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रकाश फगामीले कार्यालयको सहयोगमा भिरालो पाखोको उकालोमा एक सय ५० मिटर रेलिङसहितको पदमार्ग निर्माण गरिएको जानकारी दिनुभयो । पदमार्ग एक दशमलव पाँच मिटर फराकिलो छ ।   
   
“रु दश लाख विनियोजन गरी पदमार्ग निर्माण थालिएको हो, यसमा स्थानीयले १० प्रतिशत श्रमदान गरेका छन्,” उहाँले भन्नुभयो । नारच्याङ गाउँदेखि झरनासम्म थप एक किलोमिटर पदमार्ग निर्माण आवश्यक भएको फगामी बताउनुहुन्छ । पदमार्ग निर्माणपछि पर्यटकलाई सहज हुनेछ । उकालो बाटोमा व्यवस्थित पदमार्ग नहुँदा चिप्लिएर लड्ने जोखिम थियो । पदमार्ग निर्माणलाई पूर्णता दिन योजनालाई निरन्तरता दिइने वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।   
   
झरनाले नारच्याङमा पर्यटकको चहलपहल बढाएको छ । चार÷पाँच वर्षअघिसम्म ओझेलमा रहेको यो झरना सुनसान थियो । दैनिक झण्डै एक सय स्वदेशी तथा विदेशी पर्यटक झरना अवलोकनका लागि आउने गरेका स्थानीय टकबहादुर पुनले बताउनुभयो । झरनाको उचाइ तीन सय मिटरभन्दा बढी छ । स्थानीयले नारच्याङदेखि झरनासम्म कच्ची पदमार्ग, दृश्यावलोकन स्थल र घेराबार निर्माण गरेका छन् । झरना नजिकैको भूमे देवताको थान नारच्याङवासीको धार्मिकस्थल हो । सो ठाउँबाट कालीगण्डकी किनारको समथर भूगोल, नारच्याङ, दाना र तातोपानीको बस्ती देखिन्छ ।   
   
भूमेथान परिसरमा अन्नपूर्ण गाउँपालिकाको रु सात लाख अनुदानमा घेराबार र दृश्यावलोकन स्थल बनाइएको छ । सार्वजनिक शौचालय निर्माण भएको छ । विश्रामका लागि भवन निर्माणाधीन छ ।   
   
बेनी–जोमसोम सडकको नागढुङ्गादेखि पाँच मिनेट सवारीसाधन र आधा घन्टा पैदल हिँडेर झरना भएको स्थानमा पुग्न सकिन्छ । झरना अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि नारच्याङका सात घरमा घरबास ‘होमस्टे’ सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments