सडक मापदण्डभित्रका अस्थायी संरचना हटाउन रेखाङ्कन

ताप्लेजुङ, मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम फुङलिङका अस्थायी टहरा हटाउन फुङलिङ नगरपालिकाले अनुरोध गरेको छ । सडकको दायाँ बायाँ साढे १० मिटरका दरले चौडाइ कायम गर्ने गरी रेखाङ्कन गर्दै १५ दिनभित्र संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो ।   
   
बुधबारदेखि रेखाङ्कन गर्ने काम सुरु गरिएको छ । सडक विभाग इलाम र फुङलिङ नगरपालिकाले तीन पटक सार्वजानिक सूचना गर्दा स्थानीयले टहरासहित अस्थायी संरचना नहटाएपछि नगरपालिकाले रेखाङ्कन गर्दै हटाउन भनेको हो । रेखाङ्कनका क्रममा फिल्डमै निस्कनुभएका नगरप्रमुख अमिर मादेनले स्थानीयलाई अस्थायी संरचना हटाउन अनुरोध गर्दै आउनुभएको छ ।   
   
राजमार्गअन्तर्गत मापदण्डभित्र पर्ने टहरा मात्र हटाउन लगाइएको तर पक्की घरका सम्बन्धमा चुपचाप भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । केहिले सडक आवश्यकता भएको भन्दै भत्काउन तयार रहेको सङ्केत गरे पनि अधिकांशले भने भत्काउन नहुने अडान लिएका छन् ।   
   
बजारभित्रै राजमार्गको मापदण्डअनुसार सडक विस्तार हुँदा ठूलो क्षतिसहित धेरै परिवारको उठिवास हुने भएकाले यसको विकल्प खोज्नुपर्ने स्थानीय खगेन्द्र फेम्बू (लिम्बू)ले बताउनुभयो ।   
   
सडक ऐन लागू हुनु पूर्व बनेका र त्यसपछि बनेका घरले सडकको भाग छाड्दा धेरैको जग्गा जमिन नै सकिने भएकाले गम्भीर समस्या उत्पन्न हुने बजारवासी छत्र विकले गुनासो गर्नुभयो ।   
   
सडक विभाग इलामको अनुरोधमा नगरपालिका र जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा अस्थायी टहरा भत्काउने तयारी गरेको हो । सडक ऐन २०३१ अनुसार मेची राजमार्गको चौडाइ ४२ मिटरको छ । यद्यपि सरोकारवालाको सुझावमा बजारभित्र सडक २१ मिटरको कायम गर्नका लागि अनुरोध गर्ने तयारी छ ।   
   
बजारभित्र ४२ मिटरको चौडासहितको बाटो बनाउन सम्भव नभएकाले बाइपासका लागि सहमति गरेर बजारभित्र २१ मिटर मात्र कायम गर्ने गरी रेखाङ्कन भइरहेको नगरप्रमुख मादेनले जानकारी दिनुभयो ।   
   
तत्काललाई अस्थायी संरचना हटाउने र २१ मिटरभित्र पर्ने अन्य संरचना क्रमशः हटाउने उहाँको भनाइ छ । एकातिर विकासका लागि सडकको आवश्यकता अर्कातिर त्यही सडकले पुर्‍याउने क्षति र उत्पन्न विवादले भने अवरोध भइरहेको मादेनले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments