अर्थतन्त्र सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको बिग्रँदो अर्थतन्त्र यथास्थितिमा नरहने बताउनुभएको छ । फ्लोरिकल्चर एसोसियसनद्वारा आज यहाँ आयोजित २४औँ फ्लोरा एक्स्पोको शुभारम्भ गर्नुहुँदै उहाँले अर्थतन्त्र सुधारका लागि तत्काल पहल चाल्न आवश्यक रहेको र यसका लागि सरकारले गृहकार्य थालिसकेको जानकारी दिनुभयो ।   
   
“अहिलेको अर्थतन्त्रको अवस्थालाई अब हामी यथास्थितिमा राख्दैनौँ । सरकारले तत्काल सुधारका प्रयास गर्नेछ । यसका लागि गम्भीर गृहकार्य पनि सुरु भइसकेको छ”, उहाँले भन्नुभयो । अहिलेको राष्ट्रिय कार्यभार मुलुकलाई समृद्ध र विकासशील बनाउने रहेको बताउनुहुँदै उहाँले त्यसका लागि सरकार, निजी क्षेत्र, सहकारी र सामुदायिक क्षेत्रको उत्तिकै भूमिका रहने उल्लेख गर्नुभयो ।   
   
“तीनखम्बे अर्थ नीतिअनुसार सबै क्षेत्रलाई समेटर अघि बढ्न सरकार तयार छ । अहिलेको आर्थिक समस्यालाई सरकारले निजी क्षेत्रको मात्र समस्याका रुपमा लिएको छैन । यो समग्र देशकै समस्या हो । यसलाई सबैले मिलेरै समाधान गनुपर्छ”, मन्त्री श्रेष्ठले भन्नुभयो ।   
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले उठाएका विषय र सरकारलाई दिइएका सुझाव समयमै कार्यान्वयन हुन नसक्दा अहिले देशको आर्थिक अवस्था खस्किँदै गएको बताउनुभयो । “निजी क्षेत्रले अहिलेको आर्थिक स्थिति आउँछ भनेर पहिल्यै अनुमान गरेको थियो । हामीले उठाएका विषय निजी क्षेत्रको मात्र नभएर मुलुकको अर्थतन्त्रमै दीर्घकालीनरुपमा प्रभाव पार्नसक्ने खालका थिए । तर निजी क्षेत्रले दिएका सुझाव सरकारले कार्यान्वयन गरेन”, उहाँले भन्नुभयो ।   
   
   
फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले अहिले नेपालमा कृषि क्षेत्रमा लगानी घट्दै जाँदा उत्पादन खुम्चिएको र त्यसले आयात बढ्न गएको बताउनुभयो । “बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न सकेका छैनन् । परियोजना धितो राखेर सजिलै परियोजना कर्जा पाउने र महिला उद्यमीका लागि पनि बिना धितो महिला उद्यमी कर्जा प्रवाह गरिनुपर्छ”, उहाँले भन्नुभयो । अहिले पुष्प व्यवसायमा रू सात अर्ब बराबरको लगानी र रू दुई अर्ब ३० करोडको वार्षिक कारोबार रहेको जनाइएको छ । गत वर्षको तथ्याङ्कअनुसार भारतबाट रू ३६ अर्ब बराबरको पुष्प आयात भएको कार्यक्रमा जानकारी दिइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments