दाना नलागेपछि मकैका बाेट फाँड्दै झापाका किसान

चिरञ्जीवी घिमिरे

झापा गौरादह–५ का किसान बुद्ध फुँयालले एक बिघा क्षेत्रफलमा सुपरटान्स नामक हाइब्रिड जातको मकैको बिउ लगाए । एउटै बोटमा तीनवटासम्म घोगा लागे । तर, मकै पाकिसक्नुपर्ने वेलामा पनि दाना भने लागेन ।

एउटा बोटमा पनि दाना नलागेपछि उनले मकै फाँड्न थालेका छन् । फाँडेको मकै अहिले भैँसीको घाँस भइरहेको छ ।

‘घोगा हेर्दा लोभलाग्दा देखिन्छन् । तर, पाकिसक्नुपर्ने वेला भइसक्दा पनि दाना भने लागेन,’ खेतमा मकै फाँड्दै गरेका फुँयालले भने, ‘अब फाँडेर भैँसीलाई घाँस खुवाउँदै छु।’

कृषि पेसा नै गरेर परिवार चलाउँदै आएका फुँयाललाई अब मकैखेतीमा लगाएको लगानी कसरी उठाउने भन्ने चिन्ता छ । फुँयालले मकै रोपेदेखि अहिलेसम्म एक लाख खर्च भएको बताए ।

‘हाम्रो त पेसा नै यही हो । कृषि गरेरै छोरा काठमाडौंमा पढाउँदै छु,’ उनी भन्छन्, ‘यसरी नै घाटा लाग्यो भने त परिवार कसरी चलाउने ? अब यो घाटा कसरी पूर्ति गर्ने ?’

सोही ठाउँकी किसान मेनुका रेग्मीले लगाएको हाइब्रिड मकै पनि उस्तै छ । पाँच कट्ठा क्षेत्रमा लगाएको मकैको कहीँ दाना लागेको छ त कहीँ घोगा मात्र छ ।

‘एउटै बारीमा कुनैमा दाना छ, कुनैमा घोगा मात्र छ,’ उनले भनिन्, ‘यस्तो के भएको होला अचम्म लाग्छ । बिउ नै काम नलाग्ने भनौँ भने कहीँ त दाना लागेको छ ।’

उनले स्थानीय सरकारलाई जानकारी गराउँदा पनि चासो नदेखाएको गुनासो गरिन् । किसानलाई समस्या पर्दा कम्तीमा प्राविधिक सेवा दिए सहज हुने उनको भनाइ छ ।

जिल्लाको गौरादहमा मात्र हाेइन अर्जुनधारा, कमल र कचनाकवलका कृषकको मकैमा पनि दाना लगेको छैन ।

एक भारतीय कम्पनीले उत्पादन गरेको हाइब्रिड बिउमा कतै दाना लागेको त कतै घाेगा मात्र भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

ज्ञान केन्द्रले अहिलेसम्म २० बिघा क्षेत्रमा लगाइएको मकैमा दाना नलागेको भन्ने जानकारी प्राप्त भएको जनाएको छ ।

‘अहिले त २० बिघाको मात्र जानकारी आएको छ । यसमा चाहिँ म आफैँ गएर अनुगमन गरेको छु,’ ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले भने, ‘अझै जानकारी आउने क्रम छ । अरू धेरैमा यस्तो समस्या हुन सक्छ ।’

उनका अनुसार २० बिघा क्षेत्रफलमा मात्र लगाइएको मकैमा दाना नलागेको भए पनि किसानको करिब १५ लाख डुब्छ ।

भारतीय कम्पनी त्रिमूर्तिको टिएमएच ८२६ हाइब्रिड, सिपी ८०८ काे बिउमा दाना नलागेको उनले बताए । अनुगमनका क्रममा एउटै बिउ पनि कतै राम्रो फलेको त कतै दाना नलागेको भेटिएकाे उनले जानकारी दिए ।

बिउमा मिसावट भएका कारण यस्तो भएको हुन सक्ने उनको भनाइ छ । ‘बिउमा मिसावट भएको एउटा शंका छ । अर्को तापक्रम पनि नमिलेको हुन सक्छ,’ उनले भने, ‘कतिपय ठाउँमा सिँचाइ अभावका कारण पनि यस्तो समस्या भएको हुन सक्छ । हामी यसबारेमा अध्ययन गरिरहेका छौँ ।’

मकैमा घोगा नलागेको विषय मन्त्रालयमा पठाउने र सरकारले नीतिगत निर्णय गरेपछि मात्र कृषलाई के क्षतिपूर्ति दिने विषयमा भन्न सकिने उनले बताए ।

उनले झापामा ३६ हजार पाँच सय हेक्टरमा चैत र वैशाखमा उत्पादन हुने जातकाे मकै लगाइएकाे जानकारी दिए । नया पत्रिकामा खबर छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments