लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पहिरो, १४ घर पुरिए

लमजुङ, अविरल बर्षापछिको पहिरोले बुधबार मर्स्याङ्दी गाउँपालिका ३ पल्लोटारीका १४ घर पुरिएका छन् । आइतबार, सोमबार र मंगलबार रातभर परेको पानीका कारण गाउँमाथिबाट पहिरो खसेर घर पुरिएको स्थानीयले बताएका छन् । मंगलबार विहान ८ बजेतिर पहिरो खस्दा ४ घरमा पहिरो पसेकोमा बुधबार विहान १० बजेतिर गाउँमाथिबाट ठूलो पहिरो खसेको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार विहानको समय भएकाले मानिस बाँच्न सफल भएका छन् ।

ठूलो आवाज निकाल्दै एक्कासी पहिरो खस्दा स्थानीय त्रसित भएका छन् । डरले भाग्ने क्रममा ३ जना घाइते भएका छन् । पहिरो आउँदा भाग्ने क्रममा सिर्जना गोतामे, देवबहादुर सार्की र सुजन अछामी घाइते भएको बस्नेतले बताउनुभयो । उनीहरुलाई स्वास्थ्यसंस्थामा उपचार गराइँदै छ ।

मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार ७४ घरधुरी रहेको गाउँका १८ घर पुरै पहिरोले पुरेको छ । बाँकी सबै घरमा आंशिक क्षति पुगेको गुरुङले बताउनुभयो । मंगलबार ४ घरमा पहिरो पसेको र बुधबार थप १४ घरसहित १८ घर पुरेको उहाँले बताउनुभयो । पहिरो गएको जानकारी पाउने वित्तिकै घटनास्थल पुगेको र घाइतेको उद्दार गरी अस्पताल पठाएको उहाँले बताउनुभयो । पशु चौपायाको क्षति भने आउन बाँकी छ । उहाँले त्यस गाउँका रहेका अन्य नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बताउनुभयो ।

लमजुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार मंगलबार केही घरमा क्षति पु¥याएको भन्ने जानकारी आएकोमा बुधबार धेरै संख्यामा घर पुरिएको जानकारी आएको छ । ठूलो पहिरो आएको र गाउँका १ दर्जन बढी घर पहिरोमा परेर पुरिएको खबर आउने वित्तिकै घटनास्थल पुगेको उहाँले बताउनुभयो । क्षतिको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

मंगलबार विहान पहिरो खसेपछि पल्लोटारीका केही स्थानीय छिमेकी गाउँ, आफन्त, विद्यालय र सामुदायिक विद्यालयमा विस्थापित भएका थिए । पहिरोको उच्च जोखिममा रहेका २१ घरका स्थानीय मंगलबार नै विस्थापित भएका कारण उनीहरु बाँच्न सफल भएका छन् । पहिरोले गाउँ नै लैजाने खतरा बढेपछि सबै स्थानीय विस्थापित भएका छन् ।गोरखापत्र

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments