मेहनत गरे नेपालमै सम्भव छ : केरा खेतीबाट कराेडकाे काराेबार

शितल भट्ट
कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका- ८ कलकत्ताका रकम सिंह रानाले २०५५ सालमा एसएलसी उत्तीर्ण गरे । गाँउकै जनज्योति माविबाट एलएलसी उत्तीर्ण गरेका करमसँगैका साथीभाइ कोही महेन्द्रनगर, धनगढी, काठमाडाैँ त कोही भारतिर उच्च शिक्षा अध्ययनका लागि हिडे । तर, उनी जिल्लाबाहिर गएनन् ।

जब गाँउमा विद्युतीकरण नै नभएको अवस्था थियाे, करम सिंहले प्राविधिक बन्नका लागि ईलेक्ट्रिसियन तालिम लिए । पछि थ्री फेजको तालिम समेत लिएर गाउँमै बिजुलीको पसल थापे ।

सिटिईभिटीबाट ईलेक्ट्रिसियन तालिम लिएका करम अहिले फरक पेशामा रमाइरहेका छन् । जस्तो नाम, कर्म पनि त्यस्तै । काम गरेर रकम कमाइरहेकै छन् । उनी डेढ दशककै अवधिमा सुदूरपश्चिमका सफल केरा उत्पादक किसान बनेका छन् ।

करम ०६२ सालदेखि केरा खेतीमा जुटेका हुन् । ‘राना थारु केरा फार्म नर्सरी तथा प्रशोधन केन्द्र’ स्थापना गरेर करमले अहिले बेलाैरीमा १८ विगाह क्षेत्रफलमा केरा खेती गरिरहेका छन् ।

जि–९ प्रजातिको केराखेती गरेका करमले आफ्नै साढे ४ बिगाह र साढे १३ बिगाह जमिन भने भाडामा लिएर केराखेती गरेका छन् । ‘केरा खेतीका लागि उँचो पानी नजम्ने खेत चाहिन्छ,’ उनले भने, ‘हामीले एकमुष्ठ धेरै जमिन पाउन गाह्राे छ ।’

साढे चार विगाह जमिनमा २०/२५ लाखको कारोबार गर्दै आएका करमले साढे १३ विगाह जमिनमा भने ७०/८० लाखको कारोबार हुने बताए । पूरै खेतबाट उनले करिब एक कराेडकाे काराेबार गरिरहेका छन् ।

‘केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि निरन्तर केरा खेती नै गर्दै आएको हुँ,’ उनले भने, ‘गरे के नै हुँदैन र ?’

केराखेती शुद्ध पेशा भएको बताउँदै उनले थपे, ‘केरा जन्मेदेखि मृत्युसंस्कार सबै काममा उपयाेगी हुने र स्वास्थ्यका लागि समेत गुणकारी छ । वर्षैभरि केराका थुप्रै उपभोक्ता छन् ।’

भारतकाे केराले नेपाली किसानलाई चुनौती

भारतबाट आउने केराले नेपाली केरा किसानलाई चुनौती दिएको बताउँदै उनले भारतमा किसानलाई अनुदान लगायतका थुप्रै सुविधा दिँदा उनीहरूले सस्तोमा नेपालमा केरा बेच्दै आएको बताए । यसले नेपाली किसान भने मारमा परेकाे उनकाे अनुभव छ ।

‘भारतमा बाह्रै महिना केरा खेती हुन्छ,’ उनले भने, ‘नेपालमा फागुन, जेठ र असारमा मात्रै केराखेती गरिन्छ ।’ तापक्रमका कारण पनि नेपालमा एक वर्षमा एकपटक मात्रै केरा उत्पादन गर्न सकिने उनले बताए । ‘नेपालमा पनि बाह्रै महिना केराखेतीका लागि वातावरण सिर्जना गर्नुपर्छ,’ उनकाे सुझाव छ, ‘यसो गर्दा पनि नेपाली किसानलाई लाभ हुन्छ ।’

बजारको मागअनुसार केरा उत्पादन गर्न नसकिएको बताउँदै रकमले केराखेतीका लागि सरकारले पनि किसानलाई उत्साहित हुने कार्यक्रम ल्याउनुपर्ने बताए ।

पछिल्लाे समय लकडाउनले पनि केराखेतीमा समस्या देखिएको उनकाे भनाइ छ । केराखेतीका लागि सरकारले अनुदानको प्रबन्ध मिलाउनुपर्नेमा जाेड दिए ।

उनी भन्छन्, ‘मैले रोजेको पेशामा सन्तष्ठ छु । श्रम र मेहनत नगरे केही हुँदैन । गर्ने हाे भने विदेश नै जानुपर्दैन ।’

हरेक पेशामा संघर्ष रहेको बताउँदै उनले सफलताका लागि मेहनत गर्नुपर्ने धारणा राखे । कैलाली-कञ्चनपुरमा उत्पादन भएका केरा स्थानीय बजारमा खपत भइरहेको बताउँदै उनले थप केरा उत्पादनतर्फ युवालाई आकर्षित गराउनुपर्ने सुझाव पनि दिए ।

नयाँ केराखेती गर्ने किसानलाई करमले उत्प्रेरित गर्नुका साथै केराखेतीमा सघाउने गरेका छन् । रकम जस्तै अन्य युवाले पनि केराखेतीमा जुटे आत्मनिर्भरताका साथै आर्थिक कृयाकलापमा वृद्धि हुने देखिन्छ । -न्युज 24

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] । यसो गर्दा ताडका बोक्रामा वा केराका पातमा बेरिन्छ। यी गठरीहरूलाई […]