निषेधाज्ञाको कारण जुम्लाको स्याउ खरिद गर्न बगैँचामा कोहि व्यापारी नआउदा किसान मारमा

कृषिसूचना समाचारदाता,कोरोना भाइरस रोकथामका लागि जुम्लालगायत देशका अधिकांश स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेपछि यसको मारमा जुम्लाका स्याउ व्यापारी पनि परेका छन् । यो जुम्ली स्याउ किसानले आफ्ना उत्पादन बेच्ने याम हो । पहिलेका वर्षमा त किसानले उत्पादन गरेका जुम्लाको मीठो स्याउ खरिद गर्न यतिबेला किसानका बगैँचामै स्थानीय तथा जिल्ला बाहिरबाट व्यापारीको घुइँचो लाग्ने गर्दथ्यो । तर अहिले स्याउ खरिद गर्न यहाँका बगैँचामा स्थानीय तथा बाहिरका कुनै व्यापारी पनि आउन पाएका छैनन् ।

निषेधाज्ञाले स्याउ व्यापारी बगैँचामा नपुगेको तिला गाउँपालिका–२ का स्याउ किसान कालीबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “यस याममा जुम्लाको स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ र देशका अन्य विभिन्न शहरदेखि यहाँका स्थानीय बजारसम्म पुग्दथ्यो । यहाँका स्थानीय बजारमा पनि सानादेखि ठूला पसलसम्म जुम्ली स्याउले भरिभराउ हुन्थ्यो ।” कोभिड– १९ को सङ्क्रमणले गर्दा स्थानीय बजारदेखि तराईका बजारसम्म निषेधाज्ञा भएकाले स्याउ कसरी कहाँ बिक्री गर्ने भन्ने समस्या भएको चन्दननाथ नगरपालिका–४ का स्याउ किसान शोभा कार्की गुनासो गर्नुहुन्छ ।

कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेदेखि मात्र स्याउ टिप्ने अनुमति दिएको छ । किसानले अघि पाक्ने स्याउ टिप्न शुरु गरेको जनाएका छन् । स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष जुम्लामा १० हजार मेट्रिकटन स्याउ फल्ने पूर्वानुमान गरिएकामा त्यति उत्पादन नहुने देखिएको छ । उहाँले अहिले यस जिल्लामा पाँच हजार १०० मेट्रिकटन मात्र स्याउ फल्ने अनुमान गरिएको जानकारी दिनुभयो । यसपाली स्याउको फल कम लागेका कारण किसानलाई घाटा हुने भएकामा भएका स्याउ लिन पनि व्यापारी नआएपछि किसान दोहोरो मर्कामा परेका प्रमुख भण्डारीले बताउनुभयो ।

जिल्लाको आधाभन्दा बढी क्षेत्रमा स्याउ फुल्ने समयमा तुषारो लागेपछि फल नलागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “असिनाका कारणसमेत केही प्रभाव पा¥यो, केही स्थानमा एक वर्ष फल्ने र अर्कोवर्ष नफल्ने भएपछि यस्तो समस्या आएको हो ।” जुम्ली स्याउ भदौ दोस्रो सातापछि पूर्णरुपमा पाकेर बजारमा लैजान योग्य हुन्छ । परिस्थिति सहज नै भएको भए अब स्याउ किसानका बगैँचामा आएर किसानले खरिदको पक्का गर्ने बेला हो ।

पचास प्रतिशत कम फल्यो जुम्लामा स्याउ
गत वर्ष १२ हजार मेट्रिकटन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् । वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा सात जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका– १ स्याउ किसान लंकबहादुर बुढाले बताउनुभयो ।

स्याउ रोपिएको जमीनमा अन्न उत्पादन हुँदैन । “यसपटक न किसानसँग स्याउ छ, न त खाने अन्न । असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारिदियो”, स्याउ किसान रतिमान शाहीले बताउनुभयो । यस वर्ष असिनापानी र कालो तुषारोले ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । पाँच वर्षअघिदेखि स्याउको बीमा शुरु भए पनि जिल्लाभर एक हजार १४७ जनाको करिब ५० हजार स्याउ बिरुवाको बीमा गरेको शिखर बीमा कम्पनी जुम्लाका प्रमुख दिपदर्शन फडेराले बताउनुभयो ।

किसानले उचित मूल्य पाएनन्
कोरोना भाइरसको सङ्क्रमणका कारण बजार बन्द हुँदा यहाँको स्याउले उचित मूल्य पाउन नसकेका बताइएको छ । यसकारण पनि किसान मर्कामा परेका छन् । एकातर्फ उत्पादनमा कमी भएका कारण मर्कामा परेका किसान यही उत्पादित स्याउको पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका हुन् । गत वर्ष जुम्लाका किसानले रु ७० प्रति किलोग्राममा बेचेको स्याउ यस वर्ष भने प्रतिकेजी रु ३५–५० मूल्य पाउन पनि हम्मेहम्मे भएको स्याउ किसान बताउँछन् ।
गत वर्षको स्याउ रङ्गीन, स्वादिलो, पोटिलो, आकर्षक र सस्तो भएर होला यसले चाइनिज तथा भारतीय स्याउलाई पनि विस्थापित गरेको थियो । स्याउले नेपाली बजार ढाकेर भारतीय स्याउ विस्थापित गरे पनि लगानीअनुसारको मूल्य प्राप्त नगरेको स्याउ किसानले गुनासो गरेका छन् । तिला गाउँपालिका– १ राराका स्याउ व्यापारी पदम रावतले राम्रो मूल्य पाउने आशाले सुर्खेतमा स्याउ पु¥याउँदा पनि मूल्य नपाएको गुनासो गरे । गतवर्ष कर्णाली प्रदेश राजधानी सुर्खेतका हरेक फलफूल पसलदेखि सडकपेटीका आसपासका शहर तथा बजार स्याउमय बनेको थियो । स्थानीय हाटतथा बजारहरु नै जुम्ली स्याउले ढाकेको थियो । तर कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष भने सबैतिर सुनसान हुँदा स्याउले पनि त्यही नियति भोग्नु परिरहेको रावतले बताउनुभयो ।

जुम्ली स्याउको निर्यात
यस वर्ष जुम्लामा उत्पादन भएको स्याउ जिल्ला बाहिर पठाउन शुरु भएको छ । स्थानीय किसानहरू बोटबाट स्याउ टिप्ने र त्यसलाई बजारमा लैजाने काममा व्यस्त हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार कोरोनाले बजार बन्द भए पनि यहाँका किसानले खाद्य ढुवानी गर्ने बस तथा अरु गाडीमा जिल्लाबाट स्याउ बाहिर पठाउने गरिएको छ ।
गत वर्ष जुम्लाबाट छ हजार ५०० मेट्रिकटन स्याउ निर्यात भएको थियो । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै गत वर्ष ३४ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा रु १६ करोड र आव २०७५÷७६ मा रु १७ करोड बराबरको स्याउ जिल्ला बाहिर गएको बताइएको छ । पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments