गर्दा नहुने के छ र ! युट्युब हेरेर आधुनिक माछापालन

लम्की (कैलाली): कैलालीको घोडाघोडी नगरपालिका देउकलिया गाउँका विनोद चौधरीले इन्टरनेटको सदुपयोग गर्दै बायोफ्लक प्रविधिबाट माछापालन व्यवसाय सुरु गर्नुभएको छ ।स्नातक तहमा अध्ययनरत चौधरीले कोरोनाको जोखिमसँगै क्याम्पस अनिश्चितकालीन रूपमा बन्द भएपछि फुर्सदको समयलाई सदुपयोग गर्दै इन्टरनेटको सहयोग लिँदै बायोफ्लक प्रविधिबाट माछापालन सुरु गर्नुभएको हो ।

२२ वर्षीय चौधरीले घरआँगनमै थोरै क्षेत्रफलमा माछा पाल्न सकिने यो प्रविधिका बारेमा आफूले युट्युबमा हेरेर तथा जानकारहरूसंँग सुझाव लिएर माछापालन सुरु गरेको चौधरीले बताउनुभयो ।पोखरी निर्माण गर्ने तरिका, भुराको जानकारी र कस्तो दाना कति मात्रामा प्रयोग गर्नेजस्ता जानकारी युट्युुबबाट लिएको उहाँले बताउनुभयो । केही अलमल हुँदा अनुभवीको सल्लाह लिन्छु, चौधरीले सुनाउनुभयो ।

घर नजिकै ढुङ्गा र सिमेन्टको प्रयोग गरेर पोखरी निर्माण गर्नुभएका चौधरीले ३०÷३० हजार घनमिटर पानी जम्मा हुने दुईवटा पोखरी निर्माण गरेर १० हजार माछाका भुरा हाल्नुभएको छ । करिब पाँच लाख लगानीमा बायोफ्लक प्रविधिबाट माछापालन व्यवसाय सुरु गरेको चौधरीले बताउनुभयो ।

उच्च शिक्षासँंगै कृषि पेसामा लागेका चौधरीले भन्नुभयो, “विदेश पलायन हुने युवाले कृषि कार्यमा अर्काको देशमा पसिना बगाउनु परेको हुन्छ । मैले आफ्नै देशमा कृषि व्यवसाय गरेर यतै केही गर्नुपर्छ भन्ने सोच राखेको छु । ”

बायोफ्लक प्रविधिबाट माछापालन गर्दा कम लगानी तथा कम क्षेत्रफलमा पनि मनग्गे आम्दानी गर्न सकिने रहेछ, अरूले यस प्रविधिबाट माछापालन गरेर मुनाफा लिएको अनुभवबाट हौसिनुभएका चौधरीले सुनाउनुभयो । सुरुमा थोरै लगानीबाट व्यवसाय सुरु गर्नुभएका चौधरीले सुरुमै मुनाफा नभए पनि त्यसलाई बढाउँदै लैजाने बताउनुभयो ।

यो प्रविधिबाट पालिएका माछालाई प्रोटिनयुक्त दाना खुवाइने हुनाले यसबाट उत्पादन हुने माछा स्वस्थकर र स्वादिलो हुने बताइएको छ । नगरपालिकामै चौधरीले पहिलो आधुनिक प्रविधिको प्रयोग गर्दै माछापालन व्यवसाय सुरु गरेपछि अन्य युवाले समेत सिको गरेर आत्मनिर्भर हुने विश्वास गरिएको छ ।
गोरखापत्र अनलाइन

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments