तरकारीको मूल्य बारीमा ५०, बजारमा १२०

बर्दिया/बाँके: तरकारीमा आत्मनिर्भर बन्दै गएको बर्दियामा पछिल्लो समय मूल्य अकासिएको छ । बजार पुगेर तरकारी बिक्री गर्न समय बढी लाग्ने, निषेधाज्ञाले सवारीसाधन नपाइने, मोलमोलाइ बढी हुने र कोरोनाको जोखिम भएका कारण खेतमै आएका व्यवसायीलाई बिक्री गर्ने गरेको किसान बताउँछन् ।

बेलाबेलामा लकडाउन, निषेधाज्ञाका कारण किसानले बजार लैजानुभन्दा खेतमै व्यवसायीलाई सस्तोमा बिक्री गरे पनि उपभोक्ता भने तेब्बर मूल्यमा खरिद गर्न बाध्य छन् ।

दुई साताअघि लौका २० रुपैयाँ प्रतिकिलोमा खरिद, बिक्री हुने गर्थ्यो । अहिले लौका प्रतिकिलो ५० देखि ६० रुपैयाँ पुगेको छ । साताअघि घिरौंला ३० रुपैयाँसम्म खरिद, बिक्री हुँदै आएकामा अहिले बढेर ६० रुपैयाँ भएको छ । यसैगरी ४० रुपैयाँ प्रतिकिलो पाइने टमाटर १ सय २० रुपैयाँमा व्यवसायीले बेच्ने गरेका छन् । दुई महिनाअघि गुलरिया–५, वालापुरमा लकडाउनका कारण टमाटर ५ रुपैयाँ किलोमा बिक्री नहुँदा किसानले आफ्नो वडाका उपभोक्तालाई निःशुल्क वितरण गरेका थिए । अहिले तरकारी दुई साताअघिको मूल्यभन्दा झन्डै तेब्बरमा व्यवसायीले बिक्री गर्दै आएका छन् । बजार पुग्ने झन्झट र कोरोना संक्रमणका कारण खेतमै सस्तोमा तरकारी बेच्न बाध्य भएको गुलरिया–५ का किसान जागेश्वर थारूले बताए । भारतबाट तरकारी आउन छाडेपछि भाउ बढेको स्थानीय तरकारी व्यवसायी रेश्मा राइनको भनाइ छ । जिल्लामा २० प्रतिशतभन्दा बढी तरकारी भारतबाट आउने गरेको छ । जिल्लाका किसानले ५० प्रतिशत तरकारी उत्पादन गर्छन् । बर्दियामा ६ हजार ९ सय ७५ हेक्टरमा तरकारी खेती हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताए । वार्षिक ८२ हजार ९ सय मेट्रिक टन तरकारी उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।

बाँकेमा किसानले बारीमा भिन्डी ५० रुपैयाँ प्रतिकिलो बिक्री गरिरहेका छन् । थोक बजारमा ७० रुपैयाँ किलो छ । त्यही भिन्डी उपभोक्ताले किलोको १ सय २० रुपैयाँमा खरिद गरिरहेका छन् । घिरौंला बारीमा ५०, करेला ६०, लौका र चिचिन्डो ३५, खुर्सानी ६० रुपैयाँ प्रतिकिलो छ । त्यही तरकारी उपभोक्ताकहाँ पुग्दा एक सय रुपैयाँ प्रतिकिलो पुग्छ । भान्टा प्रतिकिलो २० रुपैयाँ थियो । अहिले सय रुपैयाँमा बिक्री भइरहेको छ । काउली ८० बाट १ सय ४० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

४० रुपैयाँ किलोमा पाइने बोडी १ सय २० पुगेको छ । बारीमा २० रुपैयाँ पर्ने लौका ६० रुपैयाँसम्म प्रतिकिलो बिक्री भइरहेको छ । काँक्रा बारीमा ४० रुपैयाँमा पाइने भए पनि नेपालगन्ज बजारमा १ सय रुपैयाँमा बिक्री भइरहेको छ ।कान्तिपुर

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments