प्याजको थोक मूल्य प्रतिकेजी ६५ रुपैयाँ र खुद्रा मूल्य प्रतिकेजी ७५ – स्थानीय प्रशासन

वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो ।

वीरगञ्ज बजार तरकारीको मुख्य मण्डी मानिएको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तलाई ठग्दै आएको खबर प्राप्त भएपछि स्थानीय प्रशासनले छापा मार्न थालेको हो । प्रशासनले व्यापारीहरुलाई प्याज बिक्री वितरण गर्न मूल्य तोकेपछि स्थानीय उपभोक्तहरुले राहत पाएको उपभोक्ता विजय पण्डितले राससलाई बताए।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीहरुबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताए । स्थानीय प्रशासनमा बसेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आइतबार बसेको बैठकले हालका लागि प्याजको थोक मूल्य प्रतिकेजी ६५ रुपैयाँ र खुद्रा मूल्य प्रतिकेजी ७५ रुपैयाँतोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यसअघि व्यापारीहरुले कृत्रिम मूल्य सिर्जना गरी प्रतिकेजी १०० रुपैयाँमा बेच्दै आएका थिए । तोकिएको मूल्यभन्दा बढी रकम लिएर प्याज बिक्री वितरण गरेको पाइए स्थानीय प्रशासनले कानूनबमोजिम कारवाही गरिने बताइएको छ । यसका साथै व्यापारीहरुले आलु, प्याजलगायतका खाद्य सामग्रीको बढी मूल्य लिएर कालोबजारी गरेको उजुरी आएमा पनि कारवाही गरिने जनाइएको छ । वीरगञ्जमा थोक तथा खुद्रा बिक्रेताको सङ्ख्या ५०० को हाराहारीमा छ ।

भारतले प्याजको निर्यातमा रोक लगाएपछि वीरगञ्ज नाका हुँदै एउटा पनि प्याज बोकेको ट्रक नेपाल भित्रिएको छैन । यसअघि वीरगञ्ज भन्सार नाकाबाट दिनको तीन ट्रकभन्दा बढी प्याज नेपाल भित्रिने गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताए । यता प्याजको अभाव हुन थालेपछि सिमावर्ती नाका रक्सौलबाट तस्करहरुले साइकलमा राखी नेपालतर्फ प्याजको तस्करी गर्न थालेको पाइएको छ । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments