पुख्र्यौली सम्पत्तिको याद ‘कोइरालाको कुनो’ बन्यो कालिज फार्म

पोखरा। पोखरा–४ गैह्रापाटनका प्रकाश कोइरालाई एक दिन पुख्र्यौली सम्पत्तिको याद आयो । बाबुबाजेले जोगाएको सम्पत्तिप्रति चासो बढेसँगै एक बिहानै हुँइकिएर उनी पोखरा–२६ लेखनाथस्थित गुँदेताल पुगे ।

भिरालो पाखोबारी जङ्गलमा परिणत भएको थियो । स्थानीयवासीले घाँस दाउरा गर्ने उक्त स्थानलाई नामाकरण गरिदिएका थिए ‘कोइरालाको कुनो’ । बाइस रोपनी पाखोलाई एकबिहान नियालेर फर्केसँगै उनको मनमा अनेक कुरा खेल्यो । पुख्र्यौली सम्पत्तिको सही सदुपयोगका लागि धेरै विकल्प अघि आए, शुरुमा कुखुरा पाल्ने सोच पनि आयो । उनले युट्युबबाट जानकारी लिने क्रमममा कालिज फार्मको बारेमा भेटे । कालिजबारे राम्रै जानकारी भेटियो । मन बदलियो कुखुराबाट कालिजतिर । घरपरिवारबाट पनि राम्रो प्रतिक्रिया पाएपछि उनी थप उत्साहित भए।

सफल मान्छे नयाँ काम गर्दैनन् तर त्यही काम फरक ढङ्गले गर्छन् भन्ने उदाहरण कोइरालाले दिएको छ । उमेरले ३५ वर्ष पुग्दै गर्दा एक सफल युवा व्यवसायीको छवि बनिसकेको छ । पोखराको चिप्लेढुङ्गामा पोखरा बाराही ज्वेलर्स, फेवा डेण्टल क्लिनिक, मुनाल ड्राइभिङ इन्स्टिच्युटका सञ्चालकसमेत रहेका कोइरालाले पुराना गाडी खरिद बिक्रीका लागि रिकण्डिशनहाउससमेत सञ्चालन गरेका हुन् ।

गत भदौमा ती पाखो जग्गालाई डोजरले सम्याएर कालिज व्यवसायमा जुट्नुभएका कोइरालाले अहिले सात रोपनी क्षेत्रफलमा कुनो एकीकृत कृषि फार्म सञ्चालन गरेर रिङनेक जातका कालिज कृषिकर्मतिर पनि आफूलाई स्थापित गर्दैछन् । बन्दाबन्दी छ । धेरैलाई दिन बिताउन मुस्किल छ । कोइलाला भने फार्ममा कालिजसँग रमाइरेका छन् । गत भदौमा फ्रान्सबाट ल्याएका अण्डालाई काठमाडौँमा ह्याचिङ गरेर ५०० चल्लाबाट शुरु गरिएको फार्मबाट अहिलेसम्म चार हजार चल्लाको बिक्री वितरण भइसकेको छ । यहाँबाट देशका विभिन्न कालिज फार्ममा चल्ला जाने गरेको उहाँको भनाइ छ । दैनिक पाँच÷सात जना कालिजबारे बुझ्न र खरिदका लागि फार्ममा पुग्ने गरेका छन् । अहिले दुई हजार ५०० बढी चल्ला हुर्किरहेका छन् । यो व्यवसायमा उहाँका ठूलो बुबाका छोरा कविन्द्र कोइरालले पनि साथ दिइरहेका छन्।

कोइरालाका अनुसार नौ महिनामा कालिजले अण्डा दिन शुरु गर्छ । प्रतिचल्ला रु एक हजार ५०० र परिपक्व माउ रु चार हजारमा बिक्री हुँदै आएको छ । भाले कालिजको तौल करिब दुई किलो र पोथी कालिज डेढकिलोसम्म हुने गरेको उनको भनाइ छ । अहिले भने भाले कालिजमात्रै बिक्री वितरण गरिएको छ । कोइराला भने, “हप्ता १० दिनको बीचमा ह्याचिङ मेसिनमा अण्डा लाने गर्छु । २४ देखि २५ दिनमा चल्ला निस्कने गर्दछ, आयातित भएपनि सहजै वातानुकूलित भएको छ, १०० अण्डाबाट ८०÷८५चल्ला निस्कने गरेको छ ।” कोइरालाले कालिजको लागि प्रोटिनयुक्त खाना आवश्यक पर्ने भएकाले आफँैले रिसिपी दिएर सोहीअनुसारको दाना बुटवलबाट मगाउने गर्नुभएको छ । कालिजले कटुस पात, नरम घाँस, काउली बन्दा पनि खाने गर्छ ।

जङ्गली कुखुरा भनेर चिनिने कालिज नेपलमा पाल्न र सिकार गर्न प्रतिबन्ध छ । तर यो विदेशबाट आयाति रिङनेक जातिको कालिज हो । यो पाल्न र बिक्री वितरणमा सरकारले अनुमति दिएको उनको भनाइ छ । कोइरालाले आफ्नो उत्पादनलाई आफैँ बेच्न सोही ठाउँमा रेष्टुरेण्ट पनि सञ्चालन गरेका छन्। “कालिजको मासु स्वादिष्ट हुने भएकाले यसको माग पनि बढिरहेको छ, आफ्नो उत्पादनको बिक्रीलाई सहज बनाउनका लागि हामीले रेष्टुरेण्ट पनि सञ्चालन गरका हौँ । यो सँगै कृषिजन्य अन्य कार्यलाई पनि थप्दै जाने सोच छ । अहिले पाँच रोपनी क्षेत्रफलमा माछापालनको तयारी भइरहेको छ”, कोइरालले भने ।

उनले आसपासको क्षेत्रमा होमस्टे कटेज सञ्चालनको गर्ने योजनालाई पनि अगाडि बढाउने तयारी गरेका छन्। सात कर्मचारी रहेको फार्ममा रु डेढ करोडको लगानी भइसकेको छ । मनोरम सुन्दर दृश्यवलोकनसहित गुँदेताल छेऊमा रहेको कुनो एकीकृत कृषि फार्मको उत्पादनलाई फेवाताल छेऊमा पनि विस्तार गर्ने उनको अर्को योजना छ । कोरोनाका कारण देश फर्कन चाहने थुप्रै युवाहरुले कालिज फार्मको बारेमा रुचि देखाएको र सामाजिक सञ्जालमार्फत जानकारी लिइरहेका छन् । “अहिले कोरोनाका कारण देश फर्कन चाहने थुप्रै युवाले यस व्यवसायका बारेमा चासो राखेका छन्। सम्भव भएसम्म जानकारी दिइरहेको छु”, उनले भने ।

भविष्यमा आवश्यक परे यसका बारेमा तालिम सञ्चालन गरेरै युवाहरुलाई कृषि कर्ममा प्रेरित गर्न आफू तयार रहेको उनको भनाइ छ । कालिज फार्ममा भेटिनुभएका पोखरा उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य सोवित पौडेलले कालिजको मासु निकै स्वादिष्ट हुने भएकाले खरिदका लागि आएको बताए ।

नेपालमा हिमाल पहाड र तराईमा गरेर आठ प्रकारका कालिज पाइने गरेको चरा विज्ञ डा हेमसागर बरालले जानकारी दिए। उनका अनुसार नेपालमा पाइने कालिजमा डाँफे, मुनाल, फोक्रास, कालिज, चिलिमे, चिर, मुजुर र लुइँचे जातिका छन् । नेपालमा रहेका कालिज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार पाल्न र सिकार गर्न निषेध गरिएको छ । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments