बाँदर धपाउन किसानलाई उपकरण वितरण

वालिङ। स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले यहाँका किसानलाई बाँदर धपाउन उपकरण वितरण गरेको छ ।

किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि नगरपालिकाले युपिभिसी पाइपबाट निर्माण भएको उपकरण वितरण गरेको हो ।

‘कारबाइड’ र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बादर भाग्ने जनाइएको छ ।

बाँदरले आतङ्क मच्चाएका कारण कतिपय खेतीयोग्य उर्बर जमिन बाँझै हुने समस्यालाई सम्बोधन गर्न उपकरण वितरण गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।

“वालिङसहित देशव्यापीरूपमा किसान दाजुभाइ दिदीबहिनीका लागि बाँदर साझा समस्या हो”, उनले भने, “यसको प्रयोगका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जानकारी गराइएको छ ।” सो प्रविधि सरल र सस्तो रहेको जनाइएको छ ।

“पहिलो चरणमा गाउँगाउँमा धेरै बाँदरले सताउने ठाउँका किसानलाई वडावडामार्फत प्राथमिकताका आधारमा निःशुल्क वितरण गर्छौँ” उनले भने, “प्रत्येक वडाका विभिन्न गाउँका किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिकाकाबारेमा आवश्यक प्रशिक्षण दिएर पठाएका छौँ ।”

नगरपालिकाले बाँदर आतङ्कबाट प्रभावित भएका किसानलाई लक्षित गरी पहिलो चरणमा १०० उपकरण वितरण गरेको हो । भिरकोट–१ हेलुका बासिन्दा भवि कोइरालाले निर्माण गरेको यन्त्रलाई परिमार्जन गर्दै वालिङ–८ का इञ्जीनियर सुरज रिजालले उत्पादन गरेका हुन्।

बाँदर धपाउनका लागि किसानले खेतबारीमै कुरेर बस्नपर्ने अवस्था भएका कारणले पनि पछिल्लो समय खेतबारीमा बालीनाली लगाउने कार्य हराउँदै गएका बेला यसको प्रयोगले समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे ।

गाउँगाउँमा मकै, तरकारी तथा फलफूल खाइदिने, टिपेर फालिदिनेजस्ता आतङ्क बाँदरले मच्चाउने गरेकामा नगरपालिकाले किसानको समस्यालाई मध्यनजर गरी समाधानको उपाय निकालेकामा वालिङ–५ पाडेथोकका पुराना किसान यज्ञप्रसाद लामिछानेले बताए ।

“गाउँमा मौसमी तथा बेमौसमी तरकारी बालीसहित अन्य खाद्यान्न लगाउँछौँ तर बाँदरको समस्याले निकै सास्ती भएको थियो”, किसान लामिछानेले भने, “यो यन्त्र चलाउन पनि सजिलो र यसबाट आवाजमात्रै निस्कने भएकाले प्रभावकारी देखेको छु ।”

आलोपालो वा प्रत्येक घरबाट व्यावसायिकरूपमा लगाइएको सुन्तला, टमाटर, मौसमी तथा बेमौसमी तरकारीमा बाँदरले केही खाने र केही टिपेर फाल्ने भएकाले किसान चिन्तित थिए । त्यस्तै वालिङ–८ भीमटारीका किसान सूर्य रेग्मीले नगरपालिका कार्यालयबाट यन्त्र चलाउने प्रशिक्षण लिएर यन्त्र गाउँमा ल्याएको बताएका छन् ।

“गाउँमा कसैले व्यावसायिकरुपमा त कसैले घरलाई आवश्यक पर्ने तरकारी तथा अन्य बाली लगाएका छन् बाँदरको हुलका हुल आउँदा समस्या हुने गरेको थियो”, किसान रेग्मीले भने, “यसलाई अनावश्यक प्रयोग हुन नदिनेमा आफूहरु सचेत हुँदै सही सदुपयोग गर्नुका साथै नगरपालिकाले किसानलाई उपकरण गराएकामा हामी खुशी छौँ ।” रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ramchandra
Ramchandra
3 years ago

मेशिन को नाम के हो ?