प्रचण्डका घरबेटीलाई ८० हजार टन मल आयातको ठेक्का

काठमाडौं- कृषि सामग्री कम्पनी लिमिटेडले सरकारको अनुदानमा खरिद गरी वितरण गर्दै आएको रासायनिक मल आयातको जिम्मा शैलुङ इन्टरप्राइजेजले पाएको छ। मल आयातको कुनै अनुभव नै नभएको उक्त कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले लकडाउनकै बिचमा मल आयात गर्ने ठेक्का दिएको हो। लिमिटेडले ५५ हजार मेट्रिक टन मल ल्याउने ठेक्का लगाइसकेको छ भने थप २५ हजार मेट्रिक टन मल आयातको जिम्मा पनि सोही कम्पनीलाई दिन लागिएको छ।

‘शैलुङ इन्टरप्राइजेज’ सडक, पुललगायत भौतिक निर्माणका क्षेत्रमा दर्जनौं आयोजना अलपत्र पारेको शैलुङ कन्ट्रक्सनको भगिनी संस्था हो। यी दुवै कम्पनी सैलुङ ग्रुप अफ कम्पनिज अन्तर्गत संचालित छन्। यो ग्रुपका अध्यक्ष सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारी हुन्। राजनीतिक पहुँच र शक्तिकेन्द्रसँगको सम्बन्धकै कारण अधिकारीको कम्पनीले ठेक्का पाएका अधिकांश आयोजना अलपत्र छन्। पूर्वाधार आयोजना निर्माणमा कुख्यात कम्पनीलाई रासायनिक मल आपूर्तिको जिम्मा दिँदा आर्थिक चलखेल र कमिसनको चक्कर मात्र होइन, किसानले समयमा मल पाउँछन/पाउँदैनन भन्नेमा पनि शंका देखिएको छ।

गत जेठमा २५ हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि टेन्डर पाएको शैलुङ इन्टरप्राइजेजले गत हप्ता मात्रै थप ३० हजार मेट्रिक टन आपूर्तिका लागि कृषि सामाग्री कम्पनी लिमिटेडसँग सम्झौता गरिसकेको छ। यसरी हालसम्म कम्पनीले ५५ हजार टन मल आयातका लागि सम्मौता गरिसकेको छ। सोही कम्पनीले थप २५ हजार टन मल आयातको पनि ठेक्का पाउने गरी प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

‘शैलुङ इन्टरप्राइजेजले २५ हजार मेट्रिक टनको पहिलो टेन्डर पाएको सोमबार ५३ दिन भयो। ७५ दिनभित्र सिपिङ गरिसक्नुपर्छ भने ११७ दिनभित्र आपूर्तिको सबै काम सकिसक्नुपर्छ,’ कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले भने। प्रवक्ता पोखरेलका अनुसार गत हप्ता मात्र यही कम्पनीले ३० हजार मेट्रिक टन मल आयातका लागि टेन्डर स्वीकृति पाएको छ। यसको एलसी खोल्नेलगायत बाँकी प्रक्रिया शुरु नहुँदै थप २५ हजार मेट्रिक टन मल आयातका लागि पनि यही कम्पनीले ठेक्का पाउने देखिएको छ। ‘अर्को टेन्डरको त उसलाई चिठ्ठी दिनै बाँकी छ। त्यो मूल्यांकनको क्रममा छ। यसका कागजात हेर्दा सबैभन्दा कम बोलकबोल यही कम्पनीले हालेकोले यसैले पाउने देखिन्छ,’ उनले भने।

कम्पनीको काम गर्ने विगतको शैली र ठेक्का पाउनका लागि पूरा गर्नुपर्ने मापदण्ड नै पूरा नगरेको विषयलाई आँखा चिम्लिएको कृषि सामग्री कम्पनी लिमिटेडले भने सार्वजनिक खरिद प्रक्रियाअनुसार नै मल आपूर्तिका लागि टेन्डर दिइएको दाबी गरेको छ। सार्वजनिक खरिद प्रक्रिया अनुसार नै शैलुङले ठेक्का पाएको पोखरेलले बताए। दर्जनौं आयोजना अलपत्र पारेको र मल आयातको अनुभव नै नभएको कम्पनीले कसरी ठेक्का पायो भन्ने प्रश्नको जवाफमा कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालन नेत्रबहादुर भण्डारीले सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार टेन्डर आह्वान गरिएको र सबैभन्दा कम बोलकबोल गर्ने कम्पनीसँग आयातका लागि ठेक्का सम्झौता गरिएको बताए। मल आपूर्तिका लागि तोकिएको मापदण्ड शैलुङ इन्टरप्राइजेजले पुरा गरे/नगरेको बारे भने अबदेखि यो विषयमा विस्तृत बुझेर मात्रै ठेक्का प्रक्रिया पूरा गर्ने उनको भनाइ छ। ‘सम्बन्धित क्षेत्रको अनुभव नै नभएको कम्पनीलाई ठेक्का दिइयो भनेर आलोचना भयो। अबदेखि अनुभवीलाई मात्र ठेक्का प्रक्रियामा संलग्न गराउँछौं,’ उनले भने।

शैलुङ इन्टरप्राइजेजले तीनवटा ठेक्का पाउन्जेलसम्म पनि उसको अनुभव र दक्षतालाई आँखा चिम्लिएको कृषि सामग्री कम्पनीले ‘यसपछिका टेन्डर प्रक्रियामा यी सबै विषयलाई गम्भीरताका साथ हेर्छौं’ भन्ने जवाफबाटै यसअघिका ठेक्का प्रक्रियामा चलखेल भएको पुष्टि हुन्छ। तीन पटकसम्म मल ल्याएपछि शैलुङलाई काम गरेको अनुभव पनि हुने भएकाले यसपछिका मलका सबै ठेक्का हात पार्नकै लागि ‘ग्रान्ड डिजाइन’ भएको समेत यसले पुष्टि गरेको छ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि कृषि सामाग्री कम्पनी लिमिटेडले ३ लाख ४ हजार ५ सय मेट्रिक टन मल आयात र बिक्री वितरण गर्न अनुमति पाएको थियो। जसमध्ये ५० हजार टन युरिया अझै आउन बाँकी छ। त्यस्तै आगामी आर्थिक वर्ष २०७७/७८ का लागि पनि ८० हजार मेट्रिक टन युरिया, ४० हजार टन डिएपी र १० हजार टन पोटास मल आयातका लागि प्रक्रिया शुरु गरिसकेको छ।

कम्पनीको योग्यता, क्षमता, कार्यशैलीबारे कुनै अध्ययन नै नगरी कुनै अनुभव नै नभएको शैलुङलाई यति धेरै ठेक्का लगातार दिइरहनुले पर्याप्त शंका गर्ने ठाउँ देखिन्छ। कम्पनीले मापदण्ड पूरा गरे/नगरेको वा काम गर्नका लागि सक्षम रहे–नरहेको विस्तृत जानकारी नै नलिई यी सबै टेन्डर शैलुङले मात्रै हात पार्ने गरी योजनाबद्ध रुपमा ल्याएको देखिन्छ।

शैलुङले २५ हजार टन मल प्रतिटन ३२०.२५ अमेरिकी डलरमा ल्याउने गरी टेन्डर हालेको थियो। यस्तै ३० हजार टन मलका लागि भने प्रतिटन ३११.५० अमेरिकी डलरमा ल्याउने गरी टेन्डर प्रस्ताव हालेको देखिन्छ। २५ हजार मेट्रिक टन युरिया ल्याउनका लागि शैलुङले पाएको पहिलो टेन्डरमा ६ वटा कम्पनीले भाग लिएका थिए। जसमध्ये शैलुङ इन्टरप्राइजेज, मुक्तिनाथ कृषि कम्पनी, होलिको मल्टिपल गरी तीन वटा स्वदेशी र बेस ट्रेडिङ बंगलादेश, मल्टी कमोडिटी युएई र सन इन्टरनेसनल युएइले टेन्डर प्रस्ताव हालेका थिए।

त्यस्तै, ३० हजार मेट्रिक टन युरिया मल ल्याउनका शैलुङले पाएको ठेक्कामा ४ वटा कम्पनी शैलुङ इन्टरप्राइजेज, होलिको मल्टिपल, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र प्रोफेसनल बिजनेस नेटवर्क गरी ४ वटा स्वदेशी कम्पनीले मात्रै प्रस्ताव हालेका थिए। एकैपटक सूचना माग गरिएको डिएपी मल आपूर्तिका लागि भने मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, जोशी बिड हाउस काठमाडौँ र एउटा भारतीय कम्पनीले टेन्डर हालेको थियो।

योग्यता र क्षमता नै नभएको कम्पनीले राजनीतिक पहुँचका आधारमा मल आयातका लागि धमाधम ठेक्का पाउन लागेको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि सार्वजनिक खरिद ऐनअनुसार ठेक्कापट्टा भएको र कुनै बदमासी भएको देखिए छानबिन गर्ने प्रतिक्रिया दिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडको संचालक समिति सदस्य एवम् कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले टेन्डर प्रक्रियामा कुनै चलखेल भएको देखिए कारबाही गरिने बताए। नेपाललाइभमा खबर छ।

हेमन्त जोशी

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments