व्यावसायिक कृषिका लागि यान्त्रिकीकरण

कोकिला ढकाल

इलाम: परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै व्यावसायिक कृषि उन्मुख गराउन इलामका स्थानीय तहले कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिन थालेका छन् । खेतबारी जोत्ने ट्याक्टर, मिनी ट्रिलर, घाँस काट्ने मेसिनजस्ता यन्त्रमा स्थानीय तहले लागत सहभागिता र अनुदानमा किसानलाई उपलब्ध गराउन थालेका छन् ।

स्थानीय तहले आआफ्ना कृषि कार्यक्रमअन्तर्गत किसानमुखी कार्यक्रमका थालनी गरिसकेका छन् । खेती लगाउन श्रमशक्ति अभाव भएसँगै किसानले माग गरेअनुसार कार्यक्रम तय गरिएको रोङ गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले बताउनुभयो । रोङ गाउँपालिकाले बिहीबार मात्रै गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत किसानलाई एउटा ठूलो ट्याक्टरसहित पाँचवटा मिनी ट्रिलर वितरण गरेको छ ।

किसानको २५ प्रतिशत लागत सहभागिता र गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ती कृषि उपकरण किसानलाई उपलब्ध गराइएको गाउँपालिकास्थित कृृषि शाखा प्रमुख सन्तोष लेप्चाले जानकारी दिनुभयो ।

लेप्चाका अनुसार १८ हर्सपावरको एउटा ट्याक्टर र त्योसँगै जडान हुने रोटाभेटर र कल्टिभेटर रोङ–२ को समुन्नत कृषक समूहलाई उपलब्ध गराइएको छ । यस्तै रोङ–२ कै सहयात्रा कृषक समूह र मिलेमतो बहुउद्देश्य सहकारी संस्थालाई एक÷एकवटा मिनी ट्रिलर उपलब्ध गराइएको छ ।
खेतीलाई यान्त्रिकीकरण गर्दै व्यावसायिक खेतीतर्फ किसानलाई उन्मुख गराउन र बढी उत्पादन लिन यो कार्यक्रम ल्याइएको हो, लेप्चाले भन्नुभयो, “आगामी आर्थिक वर्षमा पनि १० लाख रुपियाँ यसै कार्यक्रमका लागि छुट्याइएको छ । ” गाउँपालिकाले गत आर्थिक वर्ष २०७६÷७७ मा ११ लाख ७८ हजार कृषि यान्त्रिकीकरणका लागि छुट्याएको थियो ।

खेतबारी जोत्न अनुदानमा ट्याक्टरसहितका मेसिन पाएपछि किसान पनि खुसी भएका छन् । २७ किसान आबद्ध रहेकोे रोङ–२ को समुनत कृषक समूहका अध्यक्ष चन्द्रप्रसाद भट्टराईले कृषिमा गरिने प्रविधिको प्रयोगले खर्चमा बचत, सिँचाइमा कम पानीको प्रयोग र थोरै समयमा धेरै काम हुने हुँदा किसानलाई सजिलो भएको बताउनुभयो ।

उहाँले भन्नुुभयो, “प्रविधिले व्यावसायिक ढङ्गको खेती गर्न सहयोग गर्ने रहेछ । ” सधैँ गोरुको सहायताले धान रोप्ने यहाँका किसानले यो वर्ष भने ट्याक्टरले जोतेर रोप्ने तयारी गर्दै छन् । २० रोपनी जमिनमा धान खेती गर्दै आउनुभएका अर्का किसान हेमबहादुर कार्कीले ट्याक्टरले खेत जोत्दा मल, पानी राम्ररी मिल्ने र उत्पादन दोब्बर हुने गरेको अनुभव सुनाउनुभयो ।

जिल्लाको सूर्योदय नगरपालिकाले पनि गत आर्थिक वर्षमा २६ वटा मिनी पावर ट्रिलर किसानलाई वितरण गरेको छ । कृषि ज्ञान केन्द्रमार्फत १२, कृषि शाखामार्फत १० र वडा नं. १० ले चारवटा गरी २६ वटा पावर ट्रिलर वितरण गरिएको नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्माले जानकारी दिनुभयो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि यान्त्रिकीकरण कार्यक्रममा १५ लाख रुपियाँ रकम छुट्याएको बताइएको छ । यस्तै इलाम नगरपालिका र देउमाई नगरपालिकामा पनि कृषि या(न्त्रिकीकरणका कार्यक्रम रहेका छन् ।गोरखापत्र अनलाइन

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments